यमनमा पुन: शान्ति वार्ता थाल्न आह्वान

  • 3 एप्रिल 2018
यमन तस्वीर कपीराइट EPA

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले यमनको युद्ध अन्त्य गर्न शान्ति वार्ता पुन: थालिनै पर्ने बताएका छन्।

जिनिभामा भएको दातृ सम्मेलनमा बोल्दै उनले यमनलाई मानवीय सहायताका लागि करिब २ अर्ब डलर सहायताको वाचा गर्ने मध्येकै कतिपय देशले त्यहाँ द्वन्द्वरत पक्षहरूलाई हतियार बेचिरहेको बताए।

खाँचो

यमनको कुल जनसंख्या दुई करोड ७० लाख मध्ये दुई करोड २० लाखलाई सहायताको आवश्यकता रहेको बताइएको छ।

यमनमा द्वन्द्वका कारण सबैभन्दा ठूलो समस्या महिला र बालबालिकामा परेको राष्ट्रसंघका महासचिव गुटेरेजले बताएका छन्।

गुटेरेजले मानवीय सहायता त्यहाँ पुर्‍याउनका लागि यमनको बन्दरगाह र विमानस्थलहरू खुला राखिदिन पनि युद्धरत पक्षहरूलाई आग्रह गरेका छन्।

देशको केही भागमा मात्र नियन्त्रण गर्न सफल त्यहाँको सरकारका विदेश मन्त्रीले उनको सरकारको उद्देश्य ती बन्दरगाह र विमानस्थल खुला राख्नु नै रहेको बताए।

नाकाबन्दी

सरकारको समर्थन गरिरहेको साउदी अरेबिया नेतृत्वको गठबन्धनले गत वर्ष स्थल, सामुद्रिक तथा हवाई नाकाबन्दी लगाएको थियो।

तर ती नाकाबन्दी अहिले केही खुकुलो पारिएको छ।

राष्ट्रसंघका महासचिव गुटेरेजले अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकार र इरानले सहयोग गरिरहेको ठानिएको हुथी विद्रोहीहरूलाई गृहयुद्ध अन्त्य गर्नका लागि उनका नयाँ प्रतिनिधिसँग गृहकार्य गर्न आह्वान गरेका छन्।

सहायता संस्थाहरूले सम्भावित दाता देशहरूलाई - जसमध्ये केहीले युद्धरत पक्षलाई हतियार दिलाएका छन् - उनीहरुलाई उदारता मात्र देखाउनु पर्याप्त नभएको बरु शान्तिको लागि वास्तविक प्रयास आवश्यक रहेको बताउँदै छन्।

यमनको संकटलाई राष्ट्रसंघले विश्वको सबभन्दा खराब मानवसिर्जित विनाश भनेको छ।

सन् २०१५ को मार्चयता त्यहाँ नौ हजारभन्दा धेरैको ज्यान गइसकेको छ भने ५२ हजार भन्दा धेरै घाइते भएका छन्।

अधिकांश गैरसैनिकको ज्यान साउदी नेतृत्वको गठबन्धनले गरेका हवाई हमलामा परी गएको बताइएको छ।