अमेरिकी आयातमा कर बढाइने: चीन

  • 4 एप्रिल 2018
चिनियाँ कामदार तस्वीर कपीराइट Getty Images

चीनले संयुक्त राज्य अमेरिकाबाट आयात हुने एक सयभन्दा बढी वस्तुहरूमा २५ प्रतिशतले भन्सार शुल्क बढाउँदै छ।

अमेरिकाले सयौँ चिनियाँ उत्पादनहरूमा नयाँ कर लगाउने योजना सार्वजनिक गरेयता दुई देशबीचको व्यापारमा तनाव देखिएपछि प्रतिक्रियास्वरूप चीनको यस्तो कदम आएको हो।

सूची

भटमास, सुन्तलाको जुस तथा कारहरूसहित १०६ किसिमका अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत कर लगाइने चीनले बताएको छ।

अमेरिकाले पनि करिब १३ सय चिनियाँ उत्पादनहरूमाथि २५ प्रतिशत आयात कर लगाउन खोजिरहेको विवरण सार्वजनिक गरेको केही घण्टापछि नै चीनको 'जस्तालाई तस्तै' कदम आएको हो।

अमेरिकाले कर लगाउन खोजेका वस्तुहरूमा चीनमा निर्मित टेलिभिजन र मोटरसाइकलहरु पनि रहेका छन्।

ह्वाइट हाउसका अनुसार उसका प्रस्तावहरू बौद्धिक सम्पत्तिसम्बन्धी चीनको अस्वच्छ अभ्यासहरूप्रति जनाइएको प्रतिक्रिया हो।

यसअघि बेइजिङले प्रस्तावित अमेरिकी कर योजना "एकपक्षीय तथा संरक्षणवादी" भएको भन्दै कडा रूपमा निन्दा तथा विरोध गर्ने जनाएको थियो। साथै ती प्रस्तावहरूको प्रतिवाद गर्ने बताएको थियो।

त्यसपछि प्रतिक्रियास्वरूप चिनियाँ अर्थ मन्त्रालयले पनि उसले कर लगाउने भनेको वस्तुहरूको सूची नै सार्वजनिक गरेको थियो।

चेतावनी

तस्वीर कपीराइट AFP/Getty
Image caption अर्थविदहरूले चीनलाई दण्डित गर्ने ट्रम्प प्रशासनको कदमले बेइजिङलाई प्रतिवाद गर्न उक्साउने चेतावनी दिएका थिए।

चीनले हाल निशानामा पारेका उत्पादनहरूको कुल आयात मूल्य सन् २०१७ मा ५० अर्ब डलर बराबर रहेको चिनियाँ वाणिज्य मन्त्रालयले जनाएको छ।

रासयानिक पदार्थहरू, मकैका उत्पादन तथा केही प्रकारका हवाईजहाजका आयातमा कर लगाइने चिनियाँ अर्थ मन्त्रालयले उल्लेख गरेको छ।

साथै ह्विस्की, सिगार र सूर्तीजन्य पदार्थ, गाईको मासु, सवारीसाधनको इन्जिनमा हालिने लुब्रिकेन्ट, प्रोपेन र अन्य प्लास्टिकजन्य उत्पादनहरूमा थप कर लगाइँदै छ।

अमेरिकामा उत्पादित सुन्तलाको जुस, कपास तथा गहुँका केही प्रकार साथै ट्रकहरू, एसयूभी गाडी तथा निश्चित विद्युतीय सवारीसाधनमाथि पनि नयाँ भन्सार दर लगाइने चिनियाँ मन्त्रालयको भनाइ छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
व्यापार युद्धको खतरा

अर्थविद्हरूले यसअघि नै नयाँ भन्सार शुल्क लगाएर चीनलाई दण्डित गर्ने ट्रम्प प्रशासनको कदमले बेइजिङलाई प्रतिवाद गर्न उक्साउने तथा त्यसले गर्दा अमेरिकी उपभोक्ताहरूले मूल्यवृद्धिको सामना गर्नुपर्ने हुनसक्ने चेतावनी दिएका थिए।