अमेरिकाबाट दुई प्राचीन प्रस्तर मूर्तिहरू नेपाल फिर्ता

तस्बिर स्रोत, Courtesy: Metropolitan Art Museum, New York
उमामहेश्वरको मू्र्ति
चोरी भएर अमेरिका पुगेका उमामहेश्वर र बुद्धका दुई प्राचीन मूर्तिहरू बुधवार नेपाल फिर्ता ल्याइएका छन्।
न्यूयोर्कस्थित मेट्रोपोलिटन कला सङ्ग्रहालयमा प्रदर्शनीका लागि राखिएका ती प्रस्तर मूर्तिहरू नेपालबाट अवैध रूपमा लगिएको भन्ने प्रमाणित भएपछि नेपाल फर्काइएको हो।
ललितपुरको टङ्गलहिटीबाट सन् १९८० मा हराएको बसेको उमामहेश्वरको मू्र्ति र काठमान्डूको यट्खाबाट सन् १९८६ मा हराएको स्थानक बुद्धको मूर्ति करिब पाँच महिनाको प्रयासपछि नेपाल फर्काइएका हुन्।
अब कहाँ राखिन्छ?
प्राय: विदेशबाट फर्काइएका मूर्तिहरु छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयमा राखिने गरेको छ।
तर पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार स्थानीय बासिन्दा र त्यहाँको प्रशासनले सुरक्षाको प्रत्याभूति दिए पुरानै ठाउँ तिनलाई स्थापित गर्न सकिन्छ।
बाह्रौँ शताब्दीतिर निर्मित ती दुवै मूर्ति नेपालबाट अवैध रूपमा अमेरिका पुर्याइएको प्रमाणित भएपछि तिनलाई नेपाल फर्काउन मेट्रोपोलिटन कला सङ्ग्रहालय उदार देखिएको न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनीले जानकारी दिए।
हालसम्म अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रिया, तिब्बत र जर्मनीलगायतका देशबाट लगभग सय वटा मूर्तिहरू नेपाल फर्काइसकिएको छ।
अरू मूर्तिहरू पनि फर्काउन सकिने विश्वास गरिएको छ।
चुनौती
महानिर्देशक दाहाल भन्छन्, "नेपालमा भएका मूर्तिहरूको विवरणसमेत बनाउन नसकिएको हुनाले विदेशी भूमिमा भेटिएका मूर्तिहरू नेपालबाटै लगिएका हुन् भनेर प्रमाण जुटाउन गाह्रो पर्ने गरेको छ।"
नेपालबाट कस्ता मूर्तिहरू कति सङ्ख्यामा विदेश पुगेका छन् भन्ने तथ्याङ्क कतै छैन।
तर बर्सेनि छ वा सात वटा मूर्तिहरू चोरिएका घटनाको सूचना विभागले पाउने गरेको छ।