विष प्रकरण: युलिया स्क्रिपालको 'स्थिति सुधारोन्मुख'

  • 5 एप्रिल 2018
युलिया स्क्रिपाल तस्वीर कपीराइट YULIA SKRIPAL/FACEBOOK

ब्रिटेनमा विषाक्त रासयानिक पदार्थ प्रयोग गरी गरिएको आक्रमणमा परेकी रुसी पूर्वगुप्तचर सेर्गेइ स्क्रिपालकी छोरीका तर्फबाट त्यहाँको प्रहरीले एउटा विज्ञप्ति जारी गरेका छन्।

गत मार्च ४ मा सेर्गेइ स्क्रिपाल र उनकी छोरी युलियामाथि रासायनिक आक्रमण भएको थियो र सो घटना भएयता पहिलो पटक त्यस्तो विज्ञप्ति जारी गरिएको हो।

उक्त विज्ञप्तिमा आफ्नो स्वास्थ्यमा सुधार आइरहेको र त्यसले आफूलाई खुसी बनाएको युलियाले उल्लेख गरेकी छन्।

साथै आफू एक हप्ताअघि मात्र होसमा आएको पनि उनले बताइन्।

युलिया तथा उनका एकजना नातेदारबीच टेलिफोनमा भएको भनिएको कुराकानीको रेकर्डिङ रसिया टिभीले प्रसारण गरेको केही घण्टामा नै यस्तो विवरण आएको हो।

दक्षिणी इङ्ल्यान्डको सोल्ज्‌बरीमा भएको घटनापछि ३३ वर्षीया युलिया तथा उनका बुवा सेर्गेई स्क्रिपाल उपचारका लागि अस्पतालमा भर्ना भएका छन् ।

छैसट्ठी वर्षीय स्क्रिपालको अवस्था अझै 'गम्भीर तर स्थिर' रहेको बताइएको छ।

आभार

आक्रमण भएपछि आफू र आफ्ना बुवालाई उद्धार गर्ने सोल्ज्‌बरीका बासिन्दा र अस्पताललाई उनले धन्यवाद दिएकी छन्।

साथै आफूप्रति देखाइएको सद्भावप्रति युलियाले आभार प्रकट गरेकी छन्।

रुसी समाचार संस्था इन्टर्‌फ्याक्सले पनि युलियाले कुरा गरेको भनिएका ती आफन्तलाई उद्धृत गर्दै उनीहरू दुई जनाबीच कुराकानी भएको र युलियाले आफ्नो स्वास्थ अवस्था राम्रो हुँदै बताएको जनाएको छ।

कूटनीतिक सङ्कट

रासायनिक पदार्थ प्रयोग गरी आक्रमण गरिएको उक्त घटनाले अन्तर्राष्ट्रिय कूटनीतिक सङ्कट निम्त्याएको छ।

सेर्गेइ स्क्रिपाल तथा उनकी छोरीमाथि भएको आक्रमण रुसले गराएको आरोप ब्रिटेनले लगाउँदै आएको छ।

तर मस्कोले त्यसको खण्डन गर्ने गरेको छ।

ब्रिटेनका लागि रुसी राजदूतले मस्कोले स्नायुप्रणालीमा असर गर्ने रासायनिक पदार्थको भण्डारण नगरेको बताएका छन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
हतियार दौडमा रुस

सम्बन्धित समाचार