'निजगढ विमानस्थलको ढाँचाबारे छलफल सुरु'

  • 5 एप्रिल 2018
airport

सरकारले लामो समयदेखि रोकेर राखेको निजगढ विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन ग्रहण गरेसँगै अब सो विमानस्थल निर्माण गर्ने विभिन्न ढाँचाबारे छलफल सुरु भएको अधिकारीहरुले बताएका छन्।

एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा हेरिएको उक्त विमानस्थल क्षेत्रभित्र पर्ने करिब १५ सय घरधुरी रहेको बस्ती स्थानान्तरण गर्न सरकारलाई अर्को ठूलो चूनौती देखिएको उनीहरुको भनाइ छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा कोरियन कम्पनी ल्याण्डमार्क वर्ल्डवाइडबीच सन् २०१० मा निजगढ विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन बनाउने सम्झौता भएको थियो।

सम्झौता भएको करिब एक वर्षमा उक्त कम्पनीले बुझाएको प्रतिवेदन विविध कारणले रोकेर राखिएको बताएको सरकारले त्यसलाई अहिले आएर ग्रहण गरेको जनाएको छ।

निजगढ विमानस्थलबारे वातावरणीय मूल्यांकनमा के छ?

ढाँचा

प्रतिवेदनको आधारमा विमानस्थल निर्माण गर्ने उत्कृष्ट ढाँचा तय गर्ने ढोका खुलेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने बताए।

उनले भने, "सरकारी- निजी साझेदारी ढाँचा र पोखरा विमानस्थल बनाउन अघि सारिएको इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्सट्रक्सन भन्ने ढाँचा पनि छ। पछिल्लो ढाँचामा सरकारले वित्तीय स्रोतको जोहो सरकारले गर्ने र निर्माणसम्बन्धित कम्पनीले गर्ने वा दुवै काम कम्पनीले गर्ने पनि हुनसक्छ। अब बल्ल यी विषयमा छलफल गर्न सकिने भयो।"

प्रतिवेदनमा समानान्तर धावनमार्ग भएको तथा एयर बस ३८० अर्थात् दुईतले ठूलो जहाज पनि अवतरण गर्न सकिने खालको विमानस्थल बनाउने विषय उल्लेख भएको अधिकारीहरुले बताएका छन्।

विमानस्थलछेउ एउटा शहर नै बनाउन सकिने पनि त्यसमा उल्लेख गरिएको बताइएको छ।

चुनौती

विमानस्थल क्षेत्रभित्र पर्ने जंगल सरकारको अनुमतिमा सेनाले फँडानी गर्ने काम सुरु गरिसकेको छ।

वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गति सुस्त

तर त्यहाँ पर्ने बस्तीलाई स्थानान्तरण गर्न कठिन देखिएको सहसचिव लामिछाने बताए।

उनले भने, "विमानस्थल क्षेत्रभित्र करिब १५ सय घरधुरी सुकुम्वासीहरु बसेका छन्। उनीहरुको स्थानान्तरण गर्ने अर्को ठूलो चुनौती छ।"

देशको एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल सानो हुँदै गएको र त्यहाँ अवतरण गराउन लामो समय आकाशमा जहाज रोक्नपर्नेु अवस्था आइपरेकाले निजगढ विमानस्थल छिटो बनाउनु पर्नेमा जानकारहरुले जोड दिँदै आएका छन्।

तर विमानस्थल निर्माणको काम अझै सुस्त गतिमै रहेकोमा उनीहरुको चिन्ता छ।

त्यसमाथि सो विमानस्थललाई प्रभावकारी बनाउन काठमाण्डू-निजगढ द्रुतमार्गको पनि छिट्टै निर्माण भइसक्नुपर्ने बताइन्छ।