आक्रमणमा परेका पूर्वगुप्तचर स्क्रिपालको स्वास्थ्यमा 'तीव्र सुधार'

  • 6 एप्रिल 2018
युलिया र सेर्गेइ स्क्रिपाल

ब्रिटेनमा विषाक्त रासायनिक पदार्थ प्रयोग गरी आक्रमण गरिएका रुसका पूर्वगुप्तचर सेर्गेइ स्क्रिपालको स्वास्थ्य अवस्था अब गम्भीर नरहेको चिकित्सकहरूले बताएका छन्।

सोल्जबरी जिल्ला अस्पतालले स्क्रिपालको स्वास्थ्यमा तीव्र रूपमा सुधार भइरहेको बताएको छ।

छैसट्टठी वर्षीय स्क्रिपाल र उनकी ३३ वर्षीया छोरी युलियालाई लक्ष्य गरेर सोल्जबरीस्थित एउटा किनमेल केन्द्रबाहिर भएको आक्रमणपछि उनीहरूलाई अचेत अवस्थामा फेला पारिएको थियो।

गत महिना भएको सो घटनापछि अस्पतालमा भर्ना गरारएर उनीहरूको उपचार हुँदैछ।

आक्रमणमा स्नायुप्रणालीमा असर गर्ने 'नोभिचक' नामक रासायनिक पदार्थ प्रयोग भएको थियो।

तस्वीर कपीराइट AFP/GETTY IMAGES

स्क्रिपाल अहिले होसमा आएको र बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ।

आरोप

भूतपूर्व रुसी गुप्तचर तथा उनकी छोरीमाथि भएको आक्रमण रुसले गराएको आरोप ब्रिटेनले बताउँदै आएको छ। तर आफू त्यसमा कुनै किसिमले पनि संलग्न नभएको भन्दै त्यस्ता आरोपहरूलाई खण्डन गर्ने गरेको छ।

स्क्रिपालको स्वास्थ्य अवस्थाबारेको पछिल्लो जानकारी पछि रुसी दूतावासले सामाजिक सञ्जाल ट्विटरमा सन्देश राख्दै त्यसलाई 'शुभ समाचार' भनेको छ।

आफ्ना गुप्तचर स्क्रिपालले ब्रिटेनको गुप्तचरी सेवाका लागि काम गरेको आरोपमा रुसले उनलाई हिरासतमा राखेको थियो।

तर सन् २०१० मा संयुक्त राज्य अमेरिका तथा रुसबीच गुप्तचर साटासाट गर्न गरिएको एउटा सम्झौतापछि उनी मुक्त भएका थिए।

गत मार्च ४ मा उनीमाथि आक्रमण हुँदा उनकी छोरी युलिया स्क्रिपाल उनलाई भेट्न गएकी थिइन्।

यसअघि बिहीवार ब्रिटेनको प्रहरीले एउटा विज्ञप्ति जारी गर्दै उनकी छोरीको स्वास्थ्यमा सुधार आएको जनाएको थियो।

साथै उनीप्रति देखाइएको सद्भावका लागि युलियाले आभार प्रकट गरेकी थिइन्।

सम्बन्धित सामग्री