छिमेक सम्बन्ध आपसी सम्मानमा आधारित: ओली

मोदी

तस्बिर स्रोत, Embassy of Nepal/RSS

प्रधानमन्त्री केपी ओलीले छिमेकीसँगको सम्बन्ध अन्य मुलुकसितको तुलनामा पृथक रहेको भन्दै छिमेक सम्बन्ध समानता, न्याय तथा आपसी सम्मानमा आधारित रहने बताएका छन्।

भारतीय समकक्षीसँग शनिवार दिउँसो दिल्लीमा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ओलीले भने, "निकट छिमेकी भएकाले हाम्रो समृद्धिको लक्ष्य एकअर्कासँग गहिरो रुपमा जोडिएको छ। छिमेकीसँगको सम्बन्ध अरु भन्दा फरक छ। त्यो समानता, न्याय तथा आपसी सम्मान, परस्पर फाइदाको सिद्धान्तमा आधारित छ"।

ओलीले नेपाल अहिले आर्थिक विकासको नयाँ युगमा प्रवेश गरेको भन्दै त्यसमा भारतीय साथको अपेक्षा गरेको धारणा सुनाए।

तस्बिर स्रोत, BISHNU RIMAL/TWITTER

भारतसँगको सम्बन्धलाई नेपालले उच्च प्राथमिकता दिएको सुनाउँदै ओलीले भने, "सृमद्धि दुवै मुलुकको साझा लक्ष्य हो। भारतले विगतका केही दशकमा जुन किसिमको विकास गरेको छ त्यसलाई नेपालले अवसरको रुपमा हेरेको छ"।

उनले दुई वर्षअघि आफूले प्रधानमन्त्रीको रुपमा गरेको पहिलो भारत भ्रमणको प्रसंग पनि उप्काएका थिए।

नाकाबन्दी सकिएलगत्तै भएको उक्त भ्रमण ताका र अघि नेपाल-भारतबीच रहेको तिक्ततापूर्ण सम्बन्धबारे उनले कुरा त उप्काएनन् तर उच्चस्तरीय तहमा दुवै देशबीच छलफल भइरहनु पर्नेमा जोड दिए।

उनले भने, "हामीले मोदीजी (नरेन्द्र मोदी)ले छिट्टै नेपालको भ्रमण गर्नुहुनेछ भन्ने आशा गरेका छौं।"