'रासायनिक हमला'को अन्तर्राष्ट्रिय भर्त्सना

  • 8 एप्रिल 2018
सिरिया

सिरियाको राजधानी दमास्कसनजिक रहेको पूर्वी गुटामा विद्रोहीको कब्जामा रहेको डुमा नगरमा रासायनिक हमला भएको हुनसक्ने विवरणमाझ त्यसको अन्तर्राष्ट्रिय स्तरमा निन्दा भइरहेको छ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले, उनकै शब्दमा, त्यस्तो विचारहीन हमलाका लागि सिरियाली राष्ट्रपति असद र उनका साझेदारहरु रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानलाई दोष लगाएका छन्।

ट्रम्पले, यस्तो 'क्रूरता'का लागि उनीहरुले ठूलो मूल्य चुकाउनुपर्ने पनि चेतावनी दिएका छन्।

सो हमलाका कारण दर्जनौँ मानिसको ज्यान गएको बताइएको छ।

स्वयंसेवी उद्धारकर्ताहरूको समूह ह्वाइट हेल्मेटस्‍ले, भवनका भूमिगत तलाहरुमा कयौँ मानिसहरुको लाश देखिने तस्वीरहरु सामाजिक संजाल ट्वीटरमा राखेको छ।

मृतकहरुको संख्या बढ्न सक्ने उसले जनाएको छ।

सिरिया: मानवीय सहायता स्थगित

सिरिया: '५०० जनाभन्दा बढीको मृत्यु'

हमला

एक उद्धारकर्ता समूहकी प्रवक्ताले उपचार गराउन पुगेका मानिसहरुमा शरीर काँप्ने, मुखबाट फिंज बग्नेसहित अन्य लक्षणहरु देखिएको विवरणहरु आएको बताएकी छिन्।

त्यस्ता लक्षणहरु स्नायु प्रणालीमा असर गर्ने पदार्थ वा क्लोरिन ग्याससँगको सम्पर्कमा आएपछि देखिने उनले बताइन्।

शानिवार रातभर र आइतवार पनि बमबारी भएकाले पीडितहरुसम्म पुग्न नसकिएको जनाइएको छ।

विद्रोही-नियन्त्रित अन्तिम नगर डुमामा कैयौँ हप्तादेखि बमबारी र हवाई हमलाहरु भइरहेका छन्।

विद्रोही लडाकुहरुसँगै एक लाख गैरसैनिकहरु डुमा नगरमा फसेको बताइएको छ।

त्रासदीपूर्ण

संयुक्त राज्य अमेरिकाले रासायनिक आक्रमण भएको विवरणहरुलाई त्रासदीपूर्ण भनेको छ र त्यस्तो विवरण पुष्टि भएमा त्यसबारे तत्कालै अन्तर्राष्ट्रिय प्रतिक्रिया आउनुपर्ने बताएको छ।

ब्रिटेनले पनि तत्काल छानबिन हुनुपर्ने माग गरेको छ।

साथै क्याथोलिक इसाईहरूका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले रासायनिक हमलालाई, उनकै शब्दमा, विनाशकारी अस्त्रको अनुचित प्रयोग भन्दै निन्दा गरेका छन्।

टर्कीले भने उक्त रासायनिक हमला सिरियाले गराएको आफूले ठानेको बताएको छ।

तर रुस र सिरिया दुवैले रासायनिक हमला आफूहरुले गराएको भन्ने आरोपहरु अस्वीकार गरेका छन्।

डुमामा सक्रिय रहेको एउटा विद्रोही समूह जैश अल इस्लामले रुसी वार्ताकारहरुसँग पुनः वार्ता गरिरहेको बताइएको छ।

यसअघि गत हप्ता दुई पक्षबीच भएका वार्ताहरु भंग भएका थिए।

त्यसलगत्तै डुमामा सरकारबाट नयाँ हमलाहरु भइरहेका छन् र तिनै हमलामा सरकारी पक्षबाट रासायनिक अस्त्रहरु प्रयोग भएको जस्तो देखिन्छ।

सिरियामा सात वर्ष लामो द्वन्द्वमा क्रममा कैयौँ रासायनिक हमलाहरु भएको बताइन्छ।

सन् २०१७ को एप्रिलमा विपक्षीको कब्जामा रहेको एउटा गाउँमा प्राणघातक सारिन ग्यास प्रयोग गरी हमला भएको थियो।

सो हमला सिरियाली सरकारी सेनाले गराएको आरोप संयुक्त राष्ट्रसंघले लगाएको थियो।