सिरिया: हवाई अखडामा 'इजरेलद्वारा आक्रमण'

  • 9 एप्रिल 2018
नक्सा तस्वीर कपीराइट Google/DigitalGlobe

सिरियाको सैन्य विमानस्थलमा भएको एउटा घातक आक्रमण इजरेलले गराएको आरोप सिरियाली सरकार तथा उसको साझेदार रुसले लगाएका छन्।

होम्स नगरनजिकै रहेको टी-फोर भनेर पनि चिनिने टियास सैन्य हवाई अखडामाथि सोमवार सो आक्रमण भएको हो।

पर्यवेक्षकहरूका अनुसार आक्रमणमा परी १४ जना मानिसहरूको ज्यान गएको छ।

निन्दा

राजधानी दमास्कसनजिक रहेको पूर्वी गुटामा विद्रोहीहरूको नियन्त्रण रहेको डुमा नगरमा रासायनिक अस्त्र प्रयोग गरेर भएको भनिएको आक्रमणबारे अन्तर्राष्ट्रिय स्तरमा निन्दा व्यक्त भइरहेका बेला यो पछिल्लो घटना भएको छ।

सिरियाली सरकारी समाचार संस्था सनाले एउटा सैन्य स्रोतलाई उद्धृत गर्दै हवाई प्रतिरक्षा प्रणालीले टी-फोर अखडालक्षित एउटा इजरेली क्षेप्यास्त्र हमला रोकिदिएको बताएको छ।

इजरेली एफ-१५ जेट विमानले लेबननी हवाई क्षेत्रबाट ती क्षेप्यास्त्रहरू प्रहार गरेको पनि समाचार संस्थाले जनाएको छ।

प्रहार गरिएका आठ वटामध्ये पाँचवटा क्षेप्यास्त्रहरू बीचमै खसालिएको र तीन वटा चाहिँ हवाई अखडाको पश्चिमपट्टि खस्न पुगेको रुसी रक्षा मन्त्रालयले जनाएको छ।

सन् २०१२ यता सिरियास्थित अखडाहरूमा दर्जनौँ पटक आक्रमण गरेको स्वीकारेको इजरेलले यस घटनाबारे केही प्रतिक्रिया दिएको छैन।

टियास हवाई अखडामा भएको आक्रमणलाई सिरियाले सुरुमा संयुक्त राज्य अमेरिकाले गराएको आरोप लगाएको थियो।

धम्की

यसै वर्षको फ्रेबुअरीमा पनि इजरेलले सिरियामा हवाई हमला गरेको थियो र सबैभन्दा भीषण भनिएको सो हवाई हमलाका क्रममा टि-फोर अखडामा पनि आक्रमण भएको थियो।

त्यतिखेर एउटा इरानी ड्रोन इजरेली भूमिमा प्रवेश गरेपछि अनि एउटा इजरेली लडाकु विमानलाई सिरियाली प्रतिरक्षा प्रणालीले गोली हानी खसालिदिएपछि इजरेलले सिरियामा हवाई हमला गरेको थियो।

आफ्नो कट्टर शत्रु इरानलाई सिरियाभित्र अखडाहरू स्थापना गर्न नदिने तथा त्यहाँबाट सेना सञ्चालन गर्न नदिने इजरेलले बताउने गरेको छ।

तस्वीर कपीराइट .

त्यस्ता अखडाहरुलाई इजरेलले खतराका रूपमा हेर्छ।

डुमा नगरमा रासायनिक पदार्थ प्रयोग गरी हमला गरिएको भनिएका विवरणबारे भने अमेरिका तथा फ्रान्सले प्रतिक्रियास्वरूप कदम चाल्ने भन्दै धम्की दिएका थिए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले, उनकै शब्दमा, डुमा नगरमा भएको भनिएको रासायनिक हमलाका लागि ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्।

उनले सिरियाली राष्ट्रपति असदलाई "पशु" का रूपमा चित्रित गरेका छन्।

छानबिन

तर रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभले आक्रमणमा असदको संलग्नता रहेको भनिएका आरोपहरू अरूलाई उक्साउने खालको भएको बताएका छन्।

मस्को त्यस्ता हमलाहरुको यथार्थपरक छानबिन हुनुपर्ने पक्षमा रहेको तर कुनै प्रमाणविना दोष लगाउने कार्यको विरोध गर्ने लाभ्रोभले बताएका छन्।

रासायनिक अस्त्रको प्रयोग निषेध गर्ने सङ्गठन (ओपीसीडब्ल्यू) का प्रमुखले रासायनिक भनिएको हमलाप्रति "गम्भीर चिन्ता" व्यक्त गरेका छन्। रासायनिक अस्त्रहरूको सम्भावित प्रयोगबारे सो सङ्गठनले हाल जानकारी सङ्कलन गरिराखेको छ।

यसबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय बैठक बस्दै छ।

सम्बन्धित सामग्री