अमेरिकी प्रतिबन्धपछि रुसी बजारमा गिरावट

  • 9 एप्रिल 2018
russia तस्वीर कपीराइट Getty Images

संयुक्त राज्य अमेरिकाले, रुसका प्रभावशाली धनाढ्य व्यापारीहरु तथा कम्पनीहरुमाथि हालै प्रतिबन्धहरु लगाएपछि रुसी बजारमा तीव्र गिरावटहरु आएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निकट रहेका भनिएका सातजना प्रभावशाली धनाढ्य व्यापारीहरुलाई लक्षित गर्दै अमेरिकाले प्रतिबन्ध लगाएको हो।

प्रतिबन्धहरु लगाइएसँगै मस्कोका दुई वटा मुख्य शेयर सूचकहरू ११ प्रतिशतले ‍झरेका छन्।

एकजना प्रभावशाली धनाढ्य व्यापरी ओलेग डेरिपास्काको नियन्त्रणमा रहेका कम्पनीहरूको शेयर पनि ओरालो लागेको छ।

गिरावट

लण्डनस्थित डेरापास्काको नियन्त्रणमा रहेको जलविद्युत कम्पनी इएन प्लशको शेयर २५ प्रतिशतले तल झरेको छ।

रूसमा रहेको सबैभन्दा ठूलो एल्युमिनियम कम्पनी रूसलको शेयर मूल्य हङकङ स्टक एक्चेन्समा पनि झण्डै आधाले झरेको छ।

गत शुक्रवार अमेरिकाले पश्चिमा देशहरुलाई हानी पुर्‍याउने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रयासबाट फाइदा लिइरहेको आरोप लगाउँदै प्रतिबन्धहरु लगाएको थियो।

मार्च महिनाको सुरुवाततिर ब्रिटेनको सोल्जबरीमा भूतपूर्व रुसी गुप्तचर सेर्गेइ स्क्रीपालमाथि भएको स्नायु प्रणालीमा असर गर्ने हमलालाई लिएर रुस र ब्रिटेन, अमेरिकालगायतका अन्य देशहरुबीच कूटनीतिक विवाद जारी रहेका बेला अमेरिकाको यस्तो कदम आएको हो।

निन्दा

प्रभावशाली धनाढ्य व्यापारीहरु र उनीहरुको नियन्त्रण वा स्वामित्वमा रहेका एक दर्जन कम्पनीहरु साथै पुटिनको निकट रहेका १७ जना वरिष्ठ सरकारी अधिकारीहरुले पनि ती प्रतिबन्धको असरहरुको सामना गर्नुपर्नेछ।

अमेरिकाको अधिकारक्षेत्रमा रहेका उनीहरुको सम्पत्तिहरु, रोक्का हुन सक्ने बताइएको छ।

क्रेम्लीनका एकजना प्रवक्ता दिमित्री पेश्कोभले भने ती प्रतिबन्धहरुको निन्दा गरेका छन्।

पेश्कोभले, उनकै शब्दमा, त्यस्ता प्रतिबन्धहरुको नकारात्मक असरहरु कम गर्न रुसी सरकारले हरसम्भव प्रयास गरिरहेको जनाएका छन्।