युलिया स्क्रिपाल फिर्ता, सेर्गेइ स्क्रिपाल अस्पतालमै

  • 10 एप्रिल 2018
युलिया स्क्रिपाल तस्वीर कपीराइट Yulia Skripal/Facebook

इंग्ल्याण्डस्थित सोल्जबरी डिस्ट्रिक्ट अस्पतालबाट ३३ वर्षीया युलियालाई सोमवार डिस्चार्ज गरिएको र उनलाई सुरक्षित स्थानमा लगिएको बताइएको छ।

अस्पतालले उनको उपचार यतिमै नसकिने तर उनको स्वास्थ्यमा निकै सुधार भएको बताएको छ।

उनका ६६ वर्षीय बुवा अस्पतालमै रहेका छन्।

स्वास्थ्यलाभ

उनले छोरी युलियाभन्दा सुस्त गतिमा स्वास्थ्यलाभ गरिरहेको बताइएको छ।

गत मार्च ४ मा सेर्गेइ र उनकी छोरी युलियामाथि स्नायुप्रणालीमा असर गर्ने नोभिचक नामक रासायनिक पदार्थबाट आक्रमण गरिएपछि अस्पताल भर्ना गरिएको थियो।

सेर्गेइ र उनकी छोरीलाई सोल्जबरीको मध्यभागमा रहेको एउटा उद्यानको बेन्चमा अचेत अवस्थामा भेटिएको थियो।

गत हप्ता यूके प्रहरीले युलियाको तर्फबाट एउटा विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्यमा दैनिक सुधार भइरहेको जनाएको थियो।

तस्वीर कपीराइट Getty Images
Image caption सोल्जबरीमा नमुना सङ्कलन गर्दै सुरक्षाकर्मीहरू

आशा

सेर्गेइ स्क्रिपाल भने सोल्जबरी अस्पतालमै छन् तर उनको स्वास्थ्य अवस्था गम्भीर नरहेको जनाइएको छ।

अस्पतालकी निर्देशक डा क्रिस्टिन ब्लानशार्डले युलियाको भन्दा सेर्गेइको स्वास्थ्य ढिलो गतिमा सुधार भए पनि सेर्गेइले अब केही दिनमै अस्पतालबाट घर फिर्ता हुनसक्ने आशा गरिएको बताइन्।

ब्रिटिश सरकारले उक्त घटनाको पछाडि रुसको हात रहेको बताउँदै आएको छ।

खण्डन

तर रुसी सरकारले घटनामा आफ्नो कुनै संलग्नता नरहेको र ब्रिटेनले 'मिथ्या कथा' बनाएर प्रस्तुत आरोप लगाएको छ।

निको भएकोमा युलियालाई बधाई दिँदै एउटा ट्वीटमा रुसी दूतावासले लेखेको छ, "जे गरिैदैछ त्यो उनकै इच्छा गरिएको हो भन्ने हामी तत्काल प्रमाण चाहन्छौँ।"

सन्डे टाइम्समा प्रकाशित स्क्रिपाल बावुछोरीलाई अर्कै स्थानमा पठाइने र नयाँ परिचय दिइने भन्ने सामग्रीबारे प्रतिक्रिया दिँदै रुसी दूतावासले कुनै पनि खालको स्थानान्तरणलाई आफूले अपहरण मान्ने जनाएको छ।

सम्बन्धित सामग्री