सर्वेन्द्र खनाल नेपाल प्रहरी, शैलेन्द्र खनाल सशस्त्र प्रहरी प्रमुखमा

  • 10 एप्रिल 2018
सर्वेन्द्र खनाल तस्वीर कपीराइट Sarbendra/Facebook
Image caption सर्वेन्द्र खनाल नेपाल प्रहरी प्रमुखमा नियुक्त भएका छन्।

सरकारले मङ्गलवार दुई प्रहरी सङ्गठनहरूमा नयाँ प्रमुखहरूको नियुक्ति गरेको छ।

मन्त्रिपरिषद्को बैठकले सर्वेन्द्र खनाललाई नेपाल प्रहरीको र शैलेन्द्र खनाललाई सशस्त्र प्रहरी बलको नेृतत्व दिएको एक जना मन्त्रीले पुष्टि गरेका छन्।

तीसवर्षे सेवा हदका कारण बुधवारदेखि दुवै सङ्गठनका प्रमुखहरूले अनिवार्य अवकाश पाउन लागेकाले मङ्गलवार सरकारले अन्तिम समयमा हाल कायम नायब महानिरीक्षक (डीआईजी) मध्येबाट नै नयाँ नेतृत्व चयन गरेको हो।

नेपाल प्रहरीमा प्रमुख प्रकाश अर्यालसँगै त्यसपछिको दर्जामा भएका अतिरिक्त महानिरीक्षकहरू (एआईजी) सबैको कार्यकाल बुधवारबाट नै सकिन लागेकोले नायब महानिरीक्षक (डीआईजी) मध्येबाट नै नयाँ नेतृत्व चयन भएको हो।

दोस्रो बैठक

मन्त्रिपरिषद्को बिहान बसेको बैठकमा सहमति जुट्न नसकेका कारण गृहमन्त्री रामवहादुर थापाको बढुवा प्रस्तावमा छलफलका लागि मङ्गलवारै दोस्रो पटक बैठक बोलाइएको थियो।

निर्णयबारे वनमन्त्री शक्ति बस्नेतले भने, ''सरकारले दुवै प्रहरी सङ्गठनमा वरियताक्रममा पहिलो नम्बरमा रहेका सर्वेन्द्र खनाल र शैलेन्द्र खनाललाई नियुक्त गरेको छ। अन्य प्रतिस्पर्धीको योग्यतामा कुनै प्रश्न नभए पनि एक एक जनालाई नियुक्त गर्नुपर्ने भएकोले यस्तो निर्णय गरिएको हो।''

मन्त्रिपरिषद्को बैठक अघि वाम गठबन्धनका प्रमुख नेताहरू प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल र गृहमन्त्री सहितको अर्को बैठकमा प्रस्तावित नामहरूमा सहमति जुटेको बताइएको छ।

विवाद

विगतदेखि नै प्रहरी प्रमुख चयन विवाद र चर्चाको घेरामा रहँदै आएको छ।

दुई सुरक्षा संगठनको नेतृत्व चयनमा यसपालि तुलनात्मक रूपमा कम विवाद भएको अधिकारीहरु बताउँछन्।

प्रहरी नियमावलीमा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने एवम् मातहतको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामर्थ्यका आधारमा महानिरीक्षक पदमा बढुवा गरिने भनिएको छ।

कार्यसम्पादन मूल्याङ्कनका आधारमा नेपाल प्रहरीका डिआईजीत्रय खनाल पहिलो, रमेश खरेल दोस्रो र पुष्कर कार्की तेस्रो वरियतामा रहेको बताइएको छ।

सर्वेन्द्र खनालले विक्रम सम्वत २०४६ मा निरीक्षकको पदमा प्रहरी सङ्गठनमा प्रवेश गरेका थिए।

सशस्त्र प्रहरीमा वरिष्ठताका आधारमा शैलेन्द्र खनाल पहिलो र पुष्पराम केसी दोस्रो नम्बरमा रहेका थिए।

गत वर्ष देउवा नेतृत्वको सरकारले डीआईजीको वरिष्ठतामा तेस्रो क्रममा रहेका जयबहादुर चन्दलाई प्रहरीको प्रमुख बनाउने निर्णय गरेपछि एक नम्बरमा रहेको भनिएका तत्कालीन डीआईजी तथा हाल एमालेबाट सांसद बनेका नवराज सिलवाल अदालत पुगेका थिए।

अदालतले सरकारको निर्णय उल्ट्याइदिएपछि अर्याललाई सरकारले आईजीपी बनाएको थियो।

सिलवाल प्रकरणमा खुलेरै उनको पक्षमा वकालत गरेको तत्कालीन प्रमुख प्रतिपक्षी एमालेले अहिले सत्ताको नेतृत्व सम्हालेको छ।

सम्बन्धित सामग्री

सम्बन्धित समाचार