अमेरिकी प्रस्तावमा रुसद्वारा 'भिटो' प्रयोग

  • 11 एप्रिल 2018
सिरिया तस्वीर कपीराइट AFP

सिरियाको विद्रोही नियन्त्रित डुमा नगरमा भएको भनिएको रासायनिक हमलाबारे स्वतन्त्र छानबिन गर्नुपर्ने अमेरिकी मागविरूद्ध रुसले सुरक्षा परिषद्‌मा भिटो अर्थात् विशेषाधिकार प्रयोग गरेको छ।

योसँगै अमेरिकाले सिरियामा सैन्य कारबाही गर्ने सम्भावना बढेको देखिएको बीबीसीका राष्ट्रसंघीय मामिला संवाददाताले बताएका छन्।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले आफ्नो मुलुकको प्रस्तावलाई न्यूनतम प्रतिक्रियाको रूपमा व्यख्या गरेकी छन्।

डुमामा सिरियाली फौजबाट गरिएको आक्रमणको जवाफ दिनुपर्नेमा अमेरिका, ब्रिटेन र फ्रान्स सहमत भएका छन्।

हमलाबारे अमेरिका-रुसबीच आरोपप्रत्यारोप

योजना

तर राष्ट्रसंघका लागि रुसी राजदूत भसिली नेब्युन्जियाले कुनै योजना बनाइरहेको भए त्यसलाई त्याग्न वाशिङटनलाई आग्रह गरे।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियामा गरिएको शंकास्पद रायासनिक हमलाप्रति आफ्नो मुलुकले जनाउने प्रतिक्रियामा केन्द्रित हुन भन्दै ल्याटिन अमेरिकाको आफ्नो पहिलो भ्रमण रद्द गरेका छन्।

'रासायनिक हमला'को अन्तर्राष्ट्रिय भर्त्सना

तस्वीर कपीराइट AFP

ह्वाइट हाउसले भनेको छ, 'सिरियाप्रतिको अमेरिकी प्रतिक्रियाको अनुगमन गर्न' राष्ट्रपति ट्रम्प वाशिङटनमै रहनेछन्।

यसैबीच विश्वव्यापी रासायनिक अस्त्रको निगरानी गर्ने निकायले डुमामा सत्यतथ्य पत्ता लगाउन एउटा टोली पठाएको जनाएको छ।

आरोपित

स्वास्थ्य सेवा दिने स्रोतहरूका अनुसार आरोपित रासायनिक हमलाबाट थुप्रै मानिसहरू मारिएका छन्।

तर त्यसको पुष्टि गर्न चाहिँ सम्भव छैन।

अर्गनाइजेशन फर द प्रोहिबिशन अफ केमिकल वेपन्स (ओपीसीडब्ल्यू) ले आफ्नो टोली 'छिट्टै' सिरियामा परिचालित हुने बताएको हो।

सिरिया र उसको सैन्य साझेदार रुसले जाँचकर्ताहरूको भ्रमणमा सघाउने जनाएपछि ओपीसीडब्ल्यूले आफ्नो टोली खटाउने समाचार प्रकाशमा आएको हो।