सगरमाथा: हिमपातपछि 'काम गर्न सजिलो भएको छ'

  • 12 एप्रिल 2018
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
‘आइसफल डक्टर’ आङकामी शेर्पा

सगरमाथा आरोहीहरूलाई उच्च भूभागमा जान सहज हुने गरी बाटो बनाउने र त्यसको मर्मत गर्ने काम अहिले जारी रहेको त्यहाँ कार्यरत एक वरिष्ठ प्राविधिकले बीबीसीलाई बताएका छन्।

'आइसफल डक्टर' भनिने ती प्राविधिकका अनुसार सगरमाथा आधार शिविरदेखि माथिपट्टि रहेको 'आइसफल' क्षेत्रमा धातुको भर्‍याङहरू डोरीले बाँधेर तीनलाई जोडेर पुलहरू बनाउने काम सकिएको छ।

सगरमाथा आधार शिविर समुद्र सतहभन्दा पाँच हजार मिटर माथि रहेको छ।

त्यहाँभन्दा अझै उच्च भूभागमा पर्ने पहिलो शिविरनजिकै पर्ने 'नुप्त्से फेस' जाने बाटोमा पनि भर्‍याङहरू जोडेर पुलहरू बनाउने काम पूरा भएको आङकामी शेर्पाले बीबीसीलाई बताए।

'जाँच'

"बरफ जमेकोले काम गर्न अप्ठ्यारो भएको थियो। अहिले अलिअलि हिउँ पर्न थालेपछि बरफ छोपिएको छ र हामीलाई हिँड्डुल गर्न सजिलो भएको छ।"

"काम सकिएको भए पनि हामी दिनदिनै माथि गएर भर्‍याङ ठिक छ कि छैन भनेर जाँचिरहेका छौँ।"

तस्वीर कपीराइट AFP
Image caption सगरमाथा आरोहण प्रायजसो मे महिनामा हुने गरेको छ।

छैसट्ठी वर्षीय आङकामी शेर्पा झण्डै २० वर्षदेखि सगरमाथा प्रदूषण नियन्त्रण समितिमार्फत् 'आइसफल डक्टर'को रूपमा कार्यरत छन्।

अहिले सगरमाथा आधार शिविरमा रहेको उनको टोलीमा ६ जना 'आइसफल डक्टर' र अन्य छ जना सहयोगी छन्।

नेपाल सरकारको पर्यटन विभागका अनुसार यो वसन्तऋतुमा ३० भन्दा बढी टोलीका करिब ३०० आरोहीहरूले सगरमाथा आरोहणको अनुमति लिइसकेका छन्। तीमध्ये तीन टोली नेपालका हुन्।

यो सातासम्म नेपालका सबै हिमाल गरेर ६४ टोलीका ५५० भन्दा बढी आरोहीले सो विभागबाट अनुमति लिइसकेका छन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
‌कीर्तिमानी आरोही

सम्बन्धित सामग्री