भारत: बालिकाको बलात्कार-हत्याले व्यापक आक्रोश

  • 13 एप्रिल 2018
बलात्कारविरुद्ध प्रदर्शण तस्वीर कपीराइट EPA

एउटी आठ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको घटनाप्रति भारतभरि आक्रोश व्यक्त भएको छ।

एउटा घुमन्ते मुसलमान समुदायकी बालिकाको शव गत ज्यानुअरी १७ भारतप्रशासित कश्मीरको कठुआ नगरनजिकै भेटिएको थियो।

यो साता दक्षिणपन्थी हिन्दूवादी समूहरूले आठ जना व्यक्ति पक्राउ परेपछि विरोध गर्दा त्यो घटनाले चर्चा पाएको छ।

पक्राउ परेकामध्ये एक जना सेवानिवृत्त सरकारी अधिकारी, चार जना प्रहरीहरू र एक जना नाबालक छन्।

उनीहरू सबै घुमन्ते मुसलमान समुदायसँग भूमिविवाद भएको स्थानीय हिन्दू समुदायका सदस्य हुन्।

किन बढ्यो आक्रोश?

सत्तासीन भारतीय जनता पार्टीबाट मन्त्री रहेका दुई जना नेताहरूले आरोपितहरूको समर्थनमा निकालिएको र्‍यालीमा सहभागिता जनाएपछि आक्रोश बढेको हो।

सामाजिक सञ्जाल ट्विटरमा त्यसको र मूल घटनाको विरोधमा व्यापक निन्दा भएको छ।

नेता, कलाकार, खेलाडी र सामाजिक जीवनमा ख्याति कमाएका धेरैले त्यस विषयमा टिप्पणी गरेका छन्।

कतिपयले ती बालिकाको मृत्युलाई केही वर्षअघि दिल्लीमा भएको २२ वर्षीया युवतीको सामूहिक बलात्कार र हत्यासँग तुलना गरेका छन्।

द्वन्द्व

पीडित बालिकाको परिवार हिमाली क्षेत्रमा आफ्नो भेडीगोठ राख्ने घुमन्ते समुदायको हो।

हिउँदमा उनीहरू प्राय: जम्मू उपत्यका हुँदै अन्यत्र जान्छन्। उनीहरूले सार्वजनिक वनलाई चरनका रूपमा प्रयोग गर्ने हुँदा स्थानीयवासीसँग द्वन्द्वको स्थिति उत्पन्न हुने गरेको छ।

अनुसन्धानकर्ताहरूका अनुसार आरोपित व्यक्तिहरूले ती भेडीगोठालाहरूको समुदायलाई लखेट्न खोजेको हुनसक्छ।

जम्मूका वकिलहरूले ती आरोपितविरुद्ध मुद्दा दर्ता हुन नदिन प्रहरीलाई स्थानीय अदालतमा प्रवेश गर्न लाग्दा छेक्ने प्रयास गरेका थिए।

सम्बन्धित सामग्री

सम्बन्धित समाचार