कश्मीरी बालिकाको हत्या त्रासदीपूर्ण: गुटेरेस्

  • 14 एप्रिल 2018
गुटेरेस् तस्वीर कपीराइट Reuters

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भारत-प्रशासित कश्मीरमा एउटी आठ वर्षीया मुसलमान बालिकाको बलात्कारपछि भएको हत्यालाई 'त्रासदीपूर्ण' भनेर टिप्पणी गरेका छन्।

गत ज्यानुअरी महिनामा भएको उक्त घटनाको छानबिनप्रति असन्तुष्टि जनाउँदै भारतभरि आक्रोश व्यक्त भइरहेको छ।

घटनाको सम्बन्धमा हालसम्म चार जना प्रहरीसहित आठजना सन्दिग्ध पुरुष पक्राउ परेका छन्।

ती प्रहरीमाथि घटनाको प्रमाण नष्ट गरेको आरोप लागेको छ।

बालिकाको बलात्कार र हत्याप्रति व्यापक आक्रोश

राजीनामा

भारतको सत्ताधारी भारतीय जनता पार्टीका दुईजना मन्त्रीहरुले सन्दिग्धहरूको समर्थनमा निकालिएको र्‍यालीमा सहभागी भएपछि राजीनामा दिएका छन्।

पीडित बालिकाको परिवार हिमाली क्षेत्रमा आफ्नो भेडीगोठ राख्ने घुमन्ते समुदायको हो।

हिउँदमा उनीहरू प्राय: जम्मू उपत्यका हुँदै अन्यत्र जान्छन्।

तस्वीर कपीराइट Getty Images

उनीहरूले सार्वजनिक वनलाई चरनका रूपमा प्रयोग गर्ने हुँदा स्थानीयवासीसँग द्वन्द्वको स्थिति उत्पन्न हुने गरेको छ।

अनुसन्धानकर्ताहरूका अनुसार आरोपित व्यक्तिहरूले ती भेडीगोठालाहरूको समुदायलाई लखेट्न खोजेको हुनसक्छ।

जम्मूका वकिलहरूले ती आरोपितविरुद्ध मुद्दा दर्ता हुन नदिन प्रहरीलाई स्थानीय अदालतमा प्रवेश गर्न लाग्दा छेक्ने प्रयास गरेका थिए।

सम्बन्धित सामग्री