सिरिया: छानबिनका लागि पश्चिमा शक्तिको प्रयास

  • 15 एप्रिल 2018
सिरिया तस्वीर कपीराइट Reuters

अमेरिका, फ्रान्स र ब्रिटेनले सिरियामा भएको भनिएको रासायनिक हमलाको स्वतन्त्र रुपमा अनुसन्धान गर्नका लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌लाई मनाउन नयाँ प्रयासहरू थालेका छन्।

यी तीन देशहरूले शनिबार सिरियाको रासायनिक अस्त्र निर्माण गर्ने ठानिएका क्षेत्रहरूमा क्षेप्यास्त्र हमला गरेका थिए।

यी तीनै देशले अन्य परिषद् सदस्यहरूलाई मस्यौदा प्रस्ताव समेत पठाएका थिए।

उक्त मस्यौदा प्रस्तावमा सिरियामा मानवीय सहायता पुर्याउन र संयुक्त राष्ट्रसंघले नेतृत्व गरेको शान्ति वार्तामा राष्ट्रपति बशर अल असदको सरकार पनि सामेल हुन आह्वान गरिएको छ।

के सिरियामा भएको हमला कानुनसम्मत छ?

राष्ट्रसङ्घ सुरक्षा परिषद्को आपत्कालीन बैठक

आह्वान

उनीहरूले सोमबारबाट वार्ता सुरु हुने आशा व्यक्त गरेका छन्।

रुसले त्यस्तो जाँचबुझविरुद्ध भिटो अर्थात् विशेष अधिकार प्रयोग गरेको छ।

यसअघि संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले सिरियालाई रासायनिक अस्त्रहरूको प्रयोग फेरि नगर्न चेतावनी दिँदै थप हवाई हमलाको चेतावनी दिएकी छन्।

यसैबीच उत्तर एटलान्टिक सन्धि संगठन नेटोका साझेदारहरूले अमेरिका, ब्रिटेन र फ्रान्सले सिरियामाथि चालेको कदमप्रति पूर्ण समर्थन रहेको बताएका छन्।

नेटोका महासचिव जेम्स स्टोलनबर्गले रातभरिको कारबाहीले सिरियाको रासायनिक हमलाको क्षमतामा उल्लेख्य रूपमा आँच आएको बताएका छन्।

उनले त्यसले सबै समस्या हल नगरे पनि निवारणका लागि जे गरियो त्यो नै सही भएको बताए।

'गुण्डागर्दी'

अमेरिकाले सिरिया सरकारले फेरि पनि रासायनिक अस्त्रको प्रयोग गरे आफूले सिरियाविरुद्ध थप क्षेप्यास्त्र हमला गर्ने चेतावनी दिएको छ।

अमेरिका, ब्रिटेन र फ्रान्सले गरेको हमलाबारे रुसले गरेको निन्दालाई समर्थन गर्न राष्ट्रसंघको बैठक विफल भएको छ।

जम्मा दुई देशहरूले मात्रै त्यसको पक्षमा मत दिए।

गत साता सिरियाको डुमा क्षेत्रमा भएको भनिएको रासायनिक अस्त्र हमलाको प्रतिक्रियामा गरिएको हमलालाई रुसी राजदूत भसिलि नबेन्जियाले 'गुण्डागर्दी' भनेका छन्।

उनले अन्तर्राष्ट्रिय कानुनमाथि जबर्जस्ती उपेक्षा भएको पनि बताए।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले 'खतरनाक परिस्थिति' भन्दै संयम रहन आह्वान गरेका छन्।