भारत: मस्जिद विस्फोटका आरोपित निर्दोष ठहर

  • 16 एप्रिल 2018
मस्जिद तस्वीर कपीराइट Getty Images

दक्षिण भारतको हैदराबादमा ११ वर्षअघि एउटा ऐतिहासिक मस्जिदमा गराइएको एउटा विस्फोटमा संलग्न रहेको आरोप लागेका पाँच जनालाई अदालतले निर्दोष ठहर गरेको छ।

निर्दोष ठहर भएकामध्ये एक जना हिन्दू अतिवादी स्वामी असीमानन्द पनि रहेका छन्।

यसअघि इस्लामवादी सङ्गठनहरूले गरेको भनेर आरोप लगाइएका कैयौँ अन्य हमलाहरूमा समेत उनको नाम मुछिएको छ।

सुनुवाइका क्रममा दुई सयभन्दा धेरै प्रत्यक्षदर्शीहरूसँग सोधपुछ तथा सयौँ दस्तावेजहरूको जाँच गरिएको थियो ।

तर प्रतिआतङ्कवादसम्बन्धी भारतीय निकायले सुनुवाइ खेपिरहेका ती पाँच व्यक्ति दोषी भएको प्रमाणित गर्न विफल भएको अदालतले बताएको छ।

सन् २००७ मा मक्का मस्जिदमा भएको विस्फोट र त्यसपछि भएका झडपहरूमा परी १४ जनाको ज्यान गएको थियो।

न्यायाधीशको राजीनामा

सन् २००७ मा ‍भएको उक्त विस्फोटका आरोपितहरूलाई सफाइ दिएका राष्ट्रिय जाँच एजेन्सी (एनआईए) को विशेष अदालतका न्यायाधीशले राजीनामा दिएका छन्।

बीबीसी तेलुगू सेवाकी सम्वाददाा दीप्ति बथिनीका अनुसार न्यायाधीश रवीन्द्र रेड्डीले आफ्नो राजीनामा उच्च अदालत पठाएका छन्।

राजीनामाको कारण स्पष्ट भएको छैन।

तर समाचार संस्था पीटीआईले रेड्डीले निजी कारण दर्शाएर राजीनामा दिएका छन् र यसको सम्बन्ध फैसलासँग छैन।

सम्बन्धित सामग्री