भारत: बलात्कारको मुद्दा दबाउन 'पीडित किशोरीका बाबुआमालाई पैसा'

  • 17 एप्रिल 2018

गत वर्ष अपहरणपछि सामूहिक बलात्कारमा परेकी एउटी भारतीय किशोरीले आफ्ना बाबुआमाले पीडकहरूबाट पैसा लिएर आफूलाई बयान फेर्न दबाब दिएको आरोप लगाएकी छन्।

तस्वीर कपीराइट Getty Images

दिल्ली प्रहरीले ती किशोरीकी आमालाई पक्राउ गरिएको जनाएको छ। उनका बुवा भने फरार छन् र उनको खोजी हुँदैछ।

आफ्ना बाबुआमाले पीडकबाट स्वीकारेको रकम भन्दै ती किशोरी भारतीय रुपैंया पाँच लाख लिएर प्रहरी कार्यालयमा पुगेपछि त्यो घटनाबारे समाचार सार्वजनिक भएको हो।

उनलाई अहिले एउटा आश्रयगृहमा राखिएको छ।

नयाँ मुद्दा

"पीडकहरूले पीडित किशोरीका बाबुआमालाई पैसा दिएर कुरा मिलाउन खोजेको हो भन्ने हामीलाई लाग्छ," वरिष्ठ प्रहरी अधिकारी एमएन तिवारीले बीबीसीलाई बताए।

"यसबारे थप कुरा उनका बुवा पक्राउ परेपछि पत्तो लगाइने छ," उनले भने।

प्रहरीले किशोरीका बाबुआमा र आरोपित बलात्कारीहरूविरुद्ध नयाँ मुद्दा दर्ता गरेको छ। पहिलो मुद्दा गत सेप्टेम्बर महिनामै दर्ता भएको थियो।

आक्रोश

सन् २०१२ मा दिल्लीमा एक २३ वर्षीया युवतीको सामूहिक बलात्कारपछि हत्या भएको घटनापछि भारतमा यौनहिंसाका मुद्दामा निगरानी बढेको छ।

दिल्लीको त्यो घटनाले व्यापक प्रदर्शनहरू भएपछि सरकार बलात्कार नियन्त्रण गर्न कडा कानुनहरू ल्याउन बाध्य भयो।

तर महिला र बालबालिकाविरुद्ध देशभरि नै यौनहिंसा बढेका भन्ने विवरणहरू आएका छन्।

गत साता कश्मीरको कठुआनजिकै एकजना आठ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको समाचार आएपछि सर्वत्र आक्रोश व्यक्त भएको छ।

सो घटना ज्यानुअरीमा भएको बताइएको छ।

सम्बन्धित सामग्री