भारत: बलात्कारका घटनामा किन कमी आउँदैन?

  • 17 एप्रिल 2018
भारत तस्वीर कपीराइट Reuters

भारतमा प्रहरीले परिचय खुल्न नसकेकी एउटी बालिकाका बलात्कारीहरूलाई खोजिरहेका छन्। पीडित बालिकाको न अनुहार चिन्न सकिने अवस्थामा छ, न उनको नाम थाहा वा ठेगाना नै।

ती बालिका नौदेखि ११ वर्ष उमेरकी हुन सक्छिन्। उनको क्षतविक्षत शव पश्चिम गुजरातको सुरतमा फेला परेको थियो।

विश्वभर डायमन्ड सिटी भनेर चिनिने उक्त नगरको एउटा खेल मैदाननजिकै रहेको झाडीमा उनको शव भेटिएको हो। उनको शरीरमा ८६ वटा चोटहरू थिए।

शवको परीक्षण गरेका चिकित्सकले ती "चोटहरू उनको शव फेला परेको समयभन्दा एक हप्तादेखि एकदिनसम्म पुरानो" हुन सक्ने बताएका छन्।

ती बालिकालाई बन्धक बनाइएको र त्यसपछि यातना दिइएको अनि उनीमाथि दुर्व्यवहार गरिएको प्रहरीको विश्वास छ।

शव फेला परेको १० दिनभन्दा बढी समय बित्दा पनि उनको पहिचानबारे प्रहरीले केही पत्ता लगाउन सकेको छैन।

गुजरातमा हराइरहेका झन्डै आठ हजार बालबालिकाको सूची प्रहरीले जाँच गरेको भए पनि केही पत्ता लगाउन सकेन।

तर्साउने माध्यम?

स्थानीय प्रहरी प्रमुख भन्छन्‚ "शव फेला परेको स्थानमा सङ्घर्ष भएको जनाउने जस्तो कुनै पनि खाले सङ्केत भेटिएन।"

तर त्यस्तो अवस्थामा सङ्घर्ष गर्नु पनि त व्यर्थ छ, जतिबेला बलात्कारलाई शक्तिप्रदर्शन तथा कमजोरहरूलाई तर्साउने माध्यमको रूपमा प्रयोग भइरहेको छ।

कतिपयको धारणामा समुदायहरूलाई विभाजित पार्न तथा भोट बटुल्न घृणाको प्रयोग हुने पितृसत्तात्मक तथा बढ्दो रूपमा ध्रुवीकृत भारतको जस्तो समाजमा यस्तो अवस्था आइपर्नु आश्चर्यजनक होइन।

लैङ्गिक अनुपात

भारतमा एकदमै डरलाग्दो लैङ्गिक अनुपात छ र यसको अर्थ भारत पुरुषले भरिएको देश हो। यसो हुनुको कारण भनेको पेटभित्र रहेको शिशुको लिङ्ग छनोट गरी गरिने गैरकानुनी गर्भपतन हो।

भारतमा प्रत्येक ११२ छोरा जन्मिँदा १०० छोरी जन्मिन्छन्। वास्तवमा स्वाभाविक अनुपात भनेको १०५ छोरा जन्मिँदा १०० छोरी जन्मिनु हो।

छोरालाई प्राथमिकता दिँदा तथ्याङ्कगत हिसाबमा झन्डै छ करोड ३० लाख छोरीहरू 'हराइरहेका' देखिन्छन्।

तस्वीर कपीराइट Reuters

कतिपयको यो विश्वास छ कि यस्तो अस्वाभाविक लैङ्गिक अनुपातले पनि महिलामाथि अपराध बढाइरहेको छ।

उत्तरी राज्य हरियाणामा सामूहिक बलात्कारका सबैभन्दा धेरै घटना भएका छन् र सबैभन्दा खराब लैङ्गिक अनुपात पनि त्यहीँ छ।

ज्यानुअरीमा मात्र एक जना ५० वर्षीय पुरुषलाई १० वर्षकी बालिकाको शरीरलाई क्षतविक्षत पारेको आरोपमा नियन्त्रणमा लिइएको थियो । त्यसै गरी एक जना १५ वर्षीय किशोरमाथि साढे तीन वर्षकी बालिकालाई बलात्कार गरेको आरोप लागेको थियो।

साथै एक जना २० वर्षीया विवाहित महिला दुईजना पुरुषबाट बलात्कृत भइन्‚ अनि एक २४ वर्षीय पुरुष एक छात्रालाई अपहरण गरेको आरोपमा हिरासतमा छन् भने एक बालिकाको क्षतविक्षत शरीर खेतमा फेला पर्‍यो।

यी त केवल उजुरी परेका घटनाहरू मात्र हुन्।

तनाव

ज्यानुअरीमै भारत-प्रशासित कश्मीरमा पहाडी भेगमा भेडीगोठ राख्ने घुमन्ते समुदायकी एक मुसलमान बालिकाको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भयो।

उनलाई अपहरणपछि एउटा मन्दिरमा बन्धक बनाएर राखियो। उनको बलात्कार भयो र नजिकैको जङ्गलमा मारेर फालियो।

हिन्दूहरूको स्वामित्व भएको भूमिमा उनीहरूले गाईवस्तु नचराऊन् भनेर घटना अल्पसङ्ख्यक मुसलमान घुमन्ते समुदायलाई चेतावनी दिन गरिएको थियो ।

कश्मीरको अन्य भागमा पनि धार्मिक तनाव बढ्दो नै छ।

त्यसो भए के त सन् २०१२ को दिल्ली सामूहिक बलात्कारको चर्चित घटनापछि पनि केही परिवर्तन भएन त?

उत्तर दिन कठिन छ।

अचेल घटनाहरू सञ्चारमाध्यममा आउँछन्, त्यो राम्रो हो। तर न्यायिक प्रणाली राजनीतिक दबाबमा पर्छ र कतिपय आरोपितहरू छाडिन्छन्, त्यो नराम्रो हो।

भारतमा बलात्कारको चारमध्ये एउटा मुद्दामा मात्र दोषी प्रमाणित हुने गर्छन्।