ब्रिटेन: आप्रवासीसँग गरिएको व्यवहारप्रति क्षमायाचना

  • 17 एप्रिल 2018
आप्रवासी तस्वीर कपीराइट PA

ब्रिटिश प्रधानमन्त्री टरिजा मेले क्यारिबियनबाट आएका आप्रवासीहरूलाई गरिएको व्यवहारप्रति क्षमायाचना गरेकी छन्।

साठी वर्ष पहिले बाल्यावस्थामै आएका व्यक्तिहरू ब्रिटेनमा आधारभूत सेवाहरूबाट बञ्चित भएका र उनीहरूलाई देशनिकाला गर्ने चेतावनी दिइएको ब्रिटेनले स्वीकारेको भोलिपल्ट नै प्रधानमन्त्री मेले १२ क्याारिबियन देशहरूसँग क्षमा मागेकी हुन्।

उनले टेन डाउनिङ स्ट्रीटमा क्यारिबियन देशका प्रमुखहरूसँगको बैठकमा कसैलाई पनि देश छाड्न बाध्य नपारिने र समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरिन्।

जमाइकाका प्रधानमन्त्री एन्ड्रु होल्नेसले 'विन्डरश जेनेरेशन' भनिने ती आप्रवासीहरुले ब्रिटेनको निर्माण तथा समृद्ध बनाउन गरेको योगदानको प्रशंसा गरे।

केही विपक्षी सांसदहरूले मेले छ वर्षअघि आफू आन्तरिक मामिला मन्त्री हुँदा ब्रिटेनमा अवैध आप्रवासीहरूलाई सहज नहुने वातावरण सिर्जना गर्ने वाचा गरेको आरोप लगाएका छन्।

कागजी प्रक्रिया र प्रमाणको अभावमा वेस्ट इन्डिजबाट आएका हजारौँ मानिसहरु देशनिकालामा पर्न सक्ने भन्दै डराइरहेका थिए।

तीमध्ये धेरैजसो आफ्ना आमाबाबुसँगै ब्रिटेन आएका हुन् र उनीहरूले कहिल्यै ब्रिटिश कागपत्रका लागि आवेदन नै दिएनन्।

ब्रिटेनभित्र काम गरिरहन वा स्वास्थ्य उपचार पाउनका लागि उनीहरुले अब प्रमाण पेस गर्नुपर्ने बताइएको थियो।