औलो फेरि फैलिन थालेकोमा विज्ञहरूको चिन्ता

  • 18 एप्रिल 2018
लामखुट्टे तस्वीर कपीराइट Science Photo Library

दश वर्षयता पहिलो पटक विश्वमा औलो रोग लाग्नेको सङ्ख्यामा कमी नआएपछि यो प्राणघातक रोगको पुनरागमन भएको हो कि भन्ने चिन्ता उत्पन्न भएको छ।

राष्ट्रमण्डलका सदस्य देशहरूको शिखर सम्मेलनको क्रममा लन्डनमा भेला भएका नेताहरूलाई अन्तर्राष्ट्रिय विज्ञहरू तथा परोपकारी कार्यमा संलग्न बिल गेट्सले औलोविरुद्ध लड्न थप आर्थिक सहयोग गर्न आह्वान गरेका छन्।

सन् २०१६ मा विश्वको झन्डै आधा जनसङ्ख्या औलो रोगको जोखिममा थियो।

त्यो वर्ष ९१ देशमा औलो रोगबाट २० करोड १६ लाख रोगीहरू भेटिएका थिए। त्यो सन् २०१५ को तुलनामा ५० लाखले बढी हो।

विज्ञहरू भन्छन्, "थप लगानी तथा रोकथामसम्बन्धी कार्यविना औलो रोगका बिरामीहरू र औलोका कारण हुने मृत्यु अझ बढ्नेछन्।"

अमेरिकाका केही भागहरूमा‚ दक्षिण-पूर्वी एसिया‚ पश्चिमी प्रशान्त क्षेत्र तथा अफ्रिकामा औलो रोगको जोखिम बढिरहेको छ। तर अन्य धेरै क्षेत्रहरूमा सङ्क्रमणको स्तर कि स्थिर छ कि घट्दो छ।

'औषधिले काम गर्नै छाड्यो'

बीबीसीको रेडियो फोरको टुडे कार्यक्रममा बोल्दै बिल गेट्सले लामखुट्टेहरूले हावापानीअनुसार आफैँलाई परिवर्तन गर्दै गएको बताए। उनले मूल उद्देश्य यस्तो अवस्थालाई आधाले घटाउनु रहेको बताए।

तस्वीर कपीराइट AFP

"हामीले केही गरेनौँ भने‚ हामीले प्रयोग गर्ने कीटनाशक विषादीले काम गर्न छाड्छन् अनि औषधिले काम गर्न छाड्छ किनकि परजीवीले आफैँलाई विकास गराउँदै लैजान्छ। त्यसैले यो यस्तो खेल हो जहाँ तपाईँ कि त असफल बन्नुहुन्छ वा अगाडि बढ्नुहुन्छ।"

थप रकम‚ पहिलेको भन्दा राम्रो अनुगमन अनि "महान वैज्ञानिकहरू"ले औलोविरुद्ध कसरी लड्ने भनेर काम गरिरहेकाले आशा रहेको उनले बताए।

उनले अफ्रिकामा औलोले लाखौँ बालबालिकाको ज्यान लिने गरेको भन्दै त्यस क्षेत्रमा उपलब्धि हासिल गर्नु पर्ने खाँचो औँल्याए।

‌औलोका परजीवी र तिनलाई फैलाउने लामखुट्टेले ‍औषधि एवम् कीटनाशक पदार्थको प्रतिरोध गर्ने क्षमता विकास गरेकाले समस्या बढेको हो।

नयाँ उपचार पद्धतिहरू पनि देखा पर्दैछन्।

अफ्रिकाका केही स्थानहरूमा बालबालिकालाई औलो रोगबाट बचाउन प्रयोगात्मक प्रयोजनका लागि ल्याइएको नयाँ सुई मस्क्युरिक्स प्रयोगमा ल्याइसकिएको छ। नब्बे प्रतिशत औलो रोगका बिरामीहरू र ‍औलो रोगका कारण मारिने ९१ प्रतिशत घटना अफ्रिकामा नै हुनेगर्छ।

विज्ञहरूका अनुसार औलो रोगको सङ्ख्यालाई अबको पाँच वर्षभित्र आधामा झार्ने प्रतिबद्धता गरियो भने राष्ट्रमण्डलका देशहरूमा छ लाख ५० हजार जीवन बचाउन सकिन्छ।

'औलोको अन्त्य'

ब्रिटेन सरकारले भनेको छ अबको तीन वर्षका लागि औलो रोगविरुद्ध लड्नका लागि उसले ५० करोड पाउन्ड बराबरको लगानी गर्नेछ।

सन् २०२३ सम्म बिल तथा मेलिन्डा गेट्स फाउन्डेशनले एक अर्ब डलरको थप सहयोग गर्नेछ।

प्रधानमन्त्री टरिजा मेले भनेकी छिन्‚ "काम अझै सकिएको छैन। दशौँ लाख मानिसहरू अझै पनि जोखिममा छन्। अर्थतन्त्रमा असर परेको छ अनि प्रत्येक दुई मिनेटमा औलोका कारण एउटा बच्चाको ज्यान गइरहेको छ। त्यसैले सन् २०२३ सम्म सदस्य राष्ट्रहरूमा औलो आधाले घटाउने वाचाको मैले समर्थन गरिरहेकी छु।"

मलेरिया नो मोर यूके नामक संस्थाका जेम्स विटिङले भने‚ "औलो उन्मूलनसम्बन्धी अभियान महत्त्वपूर्ण मोडमा आइपुगेको छ।"

"यो त्यो रोग हो जसले सम्भवतः अहिलेसम्म अरु रोगले भन्दा धेरै मानिसहरूको ज्यान लिएको छ।"

सम्बन्धित समाचार