त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बन्द

  • 20 एप्रिल 2018
मलिण्डो

उड्ने क्रममा मलिण्डो एयरको एउटा हवाईजहाज धावनमार्गमा चिप्लिएर थचारिएपछि काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको छ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले अन्तर्राष्ट्रिय उडान खुलाउने प्रयास भइरहेको बीबीसीलाई बताए।

उनले भने, "आन्तरिक उडानहरू खुलाइसकेका छौँ, अन्तर्राष्ट्रिय उडान तीन घण्टाभित्र खुलाउने गरी हामीले प्रयास गरिरहेका छौँ"

क्षेत्रीका अनुसार क्वालालम्पुरका लागि उड्न लागेको विमान बिहीवार राति साढे १० बजेतिर धावनमार्गमा चिप्लिएको थियो।

अवरुद्ध

यसअघि सन् २०१५ को मार्चमा टर्किश एयरलाइन्सको विमान धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार दिनसम्म अवरुद्ध भएको थियो।

विमान त्यहाँ फसेपछि आउने तथा जाने गरी झण्डै साढे तीन सयवटा अन्तर्राष्ट्रिय विमानका उडानहरू प्रभावित भएका थिए।

टिकट काटिसकेका ५० हजारभन्दा बढी स्वदेशी तथा विदेशी यात्रुहरू उडान रोकिँदा खर्च र समयका कारण अन्योलमा परेका थिए।

त्यसबेला भारतको प्राविधिक टोलीसहित नेपाली सेना मिलेर उक्त विमानलाई घाँसे मैदानबाट हटाएर घरेलु विमानहरू उड्ने क्षेत्रतर्फ थन्काएका थिए।