त्रिभुवन विमानस्थल: १३ घण्टापछि अन्तर्राष्ट्रिय उडान

  • 20 एप्रिल 2018
विमान तस्वीर कपीराइट EPA

काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर थचारिएको ठाउँबाट मलिण्डो एयरको विमानलाई हटाइएपछि आन्तरिक तथा बाह्य उडान सञ्चालनमा आएको अधिकारीहरूले बताएका छन्।

उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर उक्त विमान थचारिएपछि अन्तर्राष्ट्रिय उडान १३ घण्टा अवरूद्ध भएको थियो।

थचारिएको ठाउँबाट विमानलाई तानेर अन्यत्र सारिएको बताउँदै विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले अवरोध हटेको बीबीसीलाई बताए।

उनले भने, "बिहानको ११ बजेर ३५ मिनेटबाट आन्तरिक तथा बाह्य दुवै उडानका लागि विमानस्थल खुलेको छ।"

क्षेत्रीका अनुसार क्वालालम्पुरका लागि उड्न लागेको विमान बिहीवार राति साढे १० बजेतिर धावनमार्गमा चिप्लिएको थियो।

सो विमानमा चालकदलका सदस्य र यात्रुसहित १३० भन्दा बढी व्यक्ति सवार भएको र उनीहरू सबै सकुशल रहेको बताइएको छ।

विगत

यसअघि सन् २०१५ को मार्चमा टर्किश एयरलाइन्सको विमान धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार दिनसम्म अवरुद्ध भएको थियो।

तस्वीर कपीराइट EPA

विमान त्यहाँ फसेपछि आउने तथा जाने गरी झण्डै साढे तीन सयवटा अन्तर्राष्ट्रिय विमानका उडानहरू प्रभावित भएका थिए।

टिकट काटिसकेका ५० हजारभन्दा बढी स्वदेशी तथा विदेशी यात्रुहरू उडान रोकिँदा खर्च र समयका कारण अन्योलमा परेका थिए।

त्यसबेला भारतको प्राविधिक टोलीसहित नेपाली सेना मिलेर उक्त विमानलाई घाँसे मैदानबाट हटाएर घरेलु विमानहरू उड्ने क्षेत्रतर्फ थन्काएका थिए।

गत फागुन महिनामा ढाकाबाट आएको यूएस‍-बाङ्ग्ला एअर्‌लाइन्सको यात्रुवाहक विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा ४९ जनाो मृत्यु भएको थियो।