मलिण्डो विमान चिप्लिएको घटना छानबिन गर्न टोली गठन

  • 20 एप्रिल 2018
malindo plane तस्वीर कपीराइट RSS

नेपालको नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गबाट मलिण्डो एयरको विमान चिप्लिएको घटनाबारे प्रारम्भिक छानबिन थालेको छ।

विमानमा प्राविधिक समस्याको सन्देश आएपछि उडान रोक्न खोज्दा उक्त घटना भएको जानकारी चालकले प्राधिकरणलाई दिएको बताइएको छ।

तीन सदस्यीय प्राविधिक टोलीबाट प्रारम्भिक छानबिन हुने तर विस्तृत छानबिन भने विमानसेवा र त्यो दर्ता भएको देश मलेसियाले गर्ने बुझिएको छ।

बिहीवार राति क्वालालम्पुर उड्न लागेको विमान धावनमार्गबाट बाहिर घाँसे मैदानमा धसारिएपछि नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल १३ घण्टा अवरुद्ध भएको थियो।

घटनामा केही मानवीय क्षति भएको थिएन।

तेह्र घण्टा धावनमार्ग अवरुद्ध हुँदा दर्जनौँ उडानहरू प्रभावित भएका थिए।

उडानको चाप कायमै रहे शुक्रवार अहोरात्र विमानस्थल सञ्चालन गरिने विमानस्थल व्यवस्थापनले जनाएको छ।

प्राधिकरणका उपमहानिर्देशक राजन पोख्रेलले भने, "तीन सदस्य रहेको प्राविधिक छानबिन टोलीले प्रारम्भिक तहको छानबिन गर्ने छ। कक्पिट रेकर्ड लगायतका अन्य विवरणहरू सङ्कलन गरेर गर्ने छानबिन सम्वन्धित देश र विमान कम्पनीले गर्छन्। त्यसको रिपोर्ट उनीहरूसँग हामी माग्छौँ।"

तस्वीर कपीराइट EPA

आन्तरिक धावनमार्ग बिहान छ बजे खुलेको भए पनि उक्त विमानलाई दुर्घटनाक्षेत्रबाट हटाइए पछि मात्रै अन्तर्राष्ट्रिय विमानहरूले उडान एवम् अवतरण गर्न पाएका थिए।

धावनमार्ग अवरुद्ध भएपछि रोकिएका, अन्तै पठाइएका र काठमाण्डूका लागि नउडेका विमानहरूको चापलाई मिलाउन चौबीसै घण्टा विमानस्थल सञ्चालन गर्न लागिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए।

तस्वीर कपीराइट EPA

"विमानस्थल खुलेदेखि नै विमान अवतरण र उडानको चाप परेको छ तर त्यसको व्यवस्थापनको प्रयास गरिरहेका छौँ। विमान कम्पनीहरूले आग्रह गरे भने २४ घण्टा नै विमानस्थल सञ्चालनको प्रबन्ध गरिएको छ।"

गत फागुन महिनामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै यूएस-बाङ्ग्ला एअर्‌लाइन्सको विमान दुर्घटना हुँदा विमानमा सवार ५० जना व्यक्तिको मृत्यु भएको थियो।

सन् २०१५ मा टर्किश एयर्‌लाइन्सको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर विमानस्थल चार दिनसम्म अवरुद्ध बन्न पुगेको थियो।