‘प्योङयाङको घोषणा निकै महत्त्वपूर्ण छ’

  • 21 एप्रिल 2018
ज्ञानचन्द्र आचार्य तस्वीर कपीराइट UN-OHRLLS

तत्काल लागू हुने गरी आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र परीक्षणहरू स्थगित गर्ने निर्णय उत्तर कोरियाली नेता किम जङ अनले किन लिए? संयुक्त राष्ट्र संघका पूर्व उपमहासचिव एवं नेपालका पूर्व परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यको विश्लेषण।

उत्तर कोरियाको पारमाणविक अस्त्र र क्षेप्यास्त्रसम्बन्धी विवाद पुरानो हो।

अन्तर्राष्ट्रियस्तरमा पारमाणविक अप्रसार सन्धि छ र जुन देशहरूले त्यसमा हस्ताक्षर गरेका छन्, उनीहरूले पारमाणविक प्रसारमा भाग नलिने भनेको छ।

उत्तर कोरियाले चाँहि उक्त सन्धिबाट अलग हुने निर्णय गर्‍यो। तर अन्तर्राष्ट्रिय तहबाट उसमाथि दबाब परिरेको छ।

अहिलेको उत्तर कोरियाको घोषणा त्यही दबाबको परिणामले हो जस्तो देखिन्छ।

अप्रसार सन्धि

तस्वीर कपीराइट AFP PHOTO/KCNA

अप्रसार सन्धिमा हस्ताक्षर गरे पनि कतिपय देशहरूले पारमाणविक अस्त्रसम्बन्धी अनुसन्धान गरिरहेका छन्।

इरानसँग एउटा सम्झौता भएर उसको कार्यक्रम रोकिएको अवस्था छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
प्योङयाङको घोषणाको अर्थ के?

तर सबैको चासो उत्तर कोरियामा छ। किनभने उसले परमाणुसम्बन्धी अनुसन्धान तीव्र रूपमा अघि बढाइरहेको छ।

र, त्यसबाहेक 'डेलिभरी भेहिकल' भनिने परमाणुसम्म राख्न सकिने क्षेप्यास्त्रमा पनि उनीहरूले बढी प्रगति गरेको हुनाले धेरै चासो र समस्याको विषय बनेको हो।

विगतमा पनि उत्तर कोरियाले अमेरिकासँग र अन्य राष्ट्रहरू चीन, रुस र दक्षिण कोरियासँग मिलेर विभिन्न किसिमका सम्झौताहरू गर्दै पारमाणविक अस्त्र निर्माण नगर्ने भनेर प्रतिबद्धता गरेको पनि हो।

तर केही वर्षपछि उसले पुनः शुरू गर्‍यो।

भेटवार्ता

त्यही भएर अहिलेको परिप्रेक्ष्यमा यो एउटा महत्त्वपूर्ण कदम हो। किनभने अबको केही दिनमा नै उत्तर कोरिया र दक्षिण कोरियाका राष्ट्रपतिको तहमा भेटवार्ता हुँदैछ।

अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच पनि अबको एक-डेढ महिनाभित्र भेटवार्ता हुने कुरा छ।

तस्वीर कपीराइट EPA

त्यो प्रसङ्गमा यो महत्त्वपूर्ण हो। तर यसपछि के हुन्छ, यसको कार्यान्वयन कसरी गरिन्छ र अनुगमन कसरी हुन्छ भन्ने महत्त्वपूर्ण हो।

अमेरिका मात्रै होइन जापान, चीन, दक्षिण कोरिया र अरू अन्तर्राष्ट्रिय समुदायले पनि उत्तर कोरियामाथि दबाब बढाइरहेका छन्।

राष्ट्रसंघको सुरक्षा परिषद्ले यससम्बन्धी धेरै प्रस्तावहरू पारित गरेको छ।

त्यो हिसाबमा दबाबले काम गरिरहेको छ। दबाबका साथै अब नयाँ दिशामा उत्तर कोरियाली विषय जान्छ कि जस्तो छ।

मोड

उत्तर कोरियाले पारमाणविक अस्त्र कार्यक्रम पूर्ण रूपमा बन्द गर्छ भनेर तत्कालै भन्न सकिने अवस्था छैन।

अहिलेको कदमले कुराकानीको वातावरणलाई बल पुर्‍याउँछ।

उत्तर कोरियाली नेताले अलि अगाडि चिनियाँ राष्ट्रपतिलाई भेटे।

दक्षिण कोरियाको राष्ट्रपतिलाई केही दिनमै र निकट भविष्यमा अमेरिकी राष्ट्रपतिलाई भेट गर्ने परिप्रेक्ष्यमा अहिलेको कदमको धेरै महत्त्व छ।

यी कुराकानीहरूबाट दिगो रूपमा समाधानको बाटो नखुलेसम्म स्पष्ट रूपमा यसले नै एउटा नयाँ मोड लिइहाल्छ कि भन्न सक्ने अवस्था चाहिँ छैन।