वाम एकताबाट पछि हट्दैनौं: ओली

  • 22 एप्रिल 2018
केपी ओली तस्वीर कपीराइट RSS

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले वाम एकता सफल पार्नु बाहेकको अर्को बाटो नभएको बताएका छन्।

एकता प्रक्रियाबारे आशंका व्यक्त भइरहँदा राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले त्यसरी आश्वस्त पार्ने कोसिस गरेका हुन्।

एमाले र माओवादी केन्द्रको संयुक्त कार्यक्रममा उनले भने, "एकता सफल पार्नुबाहेकको अर्को विकल्प छैन। अब जुत्ता मिलेन भने पनि खुट्टा नै ताछेर मिलाउनुपर्छ"।

उनले आफूअघि बोलेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राखेका एकताबारे राखेका धारणामा समर्थन जनाएका थिए।

उनले भने, "एकता सम्मान, समानता र समझदारीको आधारमा हुनेछ"।

'समानताका आधारमा एकता गर्ने सहमति'

विवाद

तर उनले 'ओली वा प्रचण्डले नगरेपनि एकता हुन्छ' भन्ने प्रचण्डको धारणाप्रति भने असहमति जनाउँदै भने, "हामीले नगरेको भए एकता प्रक्रिया यहाँसम्म आउने थिएन र अब पनि गरेरै छाड्ने हो"।

त्यसअघि लेनिनको तस्बिर नराखिएको भन्दै विवाद सिर्जना भएको थियो।

कार्यक्रमस्थलमा उपस्थित माओवादी केन्द्रका नेता, कार्यकर्ताले असन्तुष्टि जनाएका थिए र एक जनाले कार्यक्रमस्थलमा राखिएको 'ब्यानर' हटाउन खोजेका थिए।

पछि लेनिन र मार्क्सको तस्बिर राखिएको थियो।

उक्त विषयलाई लिएर कार्यक्रम केही घण्टा ढिलो सुरु भएको थियो।

सो कुरालाई ओली र प्रचण्डले केही व्यवस्थापकीय त्रुटि भन्दै त्यस्ता विषयलाई ठूलो नबनाउन आग्रह गरेका थिए।

सम्बन्धित सामग्री