भूकम्प: पुनर्निर्माणमा विलम्ब नगर्न प्रधानमन्त्रीको निर्देशन

  • 25 एप्रिल 2018
धरहरा तस्वीर कपीराइट KP Sharma Oli/TWITTER

प्रधानमन्त्री केपी ओलीले पूर्वनिर्धारित पाँच वर्षभित्र भूकम्पबाट ध्वस्त भएका सबै संरचनाको पुनर्निर्माण हुने अवस्था नदेखिएको भन्दै त्यसमा तीव्रता दिन निर्देशन दिएका छन्।

गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाइ २०७२ साल वैशाख १२ गते गएको भूकम्पको तेस्रो वार्षिकीका सन्दर्भमा राजधानीको धरहरामा आयोजित स्मृतिसभामा उनले यस्तो बताएका हुन्।

ओलीले पुनर्निर्माणमा हालसम्म भएका प्रगति विवरण प्रस्तुत गरेका थिए। तर अपेक्षा अनुसार काम हुन नसकेका दृष्टान्तहरू पनि सुनाएका थिए।

विगतमा आफू नेतृत्वको सरकारले ल्याएको 'मै बनाउँछु धरहरा' भन्ने अभियानलाई राम्ररी अघि नबढाइएको उल्लेख गर्दै उनले जनताकै सहभागितामा धरहरा निर्माण गरेरै छाड्ने प्रतिबद्धता जनाए।

प्राथमिकता

सरकारका मन्त्रीसहित विशिष्ट अधिकारीहरू उपस्थित स्मृतिसभामा बोल्दै ओलीले भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माण सम्पन्न गरी देशलाई विकासको बाटोमा अग्रसर गराउनु आफ्नो प्राथमिकता भएको बताए।

उनले भने, "हामीले छिटोभन्दा छिटो पुनर्निर्माण सम्पन्न गर्नुपर्छ, पहिले भनिएजस्तो पाँच वर्षभित्रै सबै संरचना बनिसक्ने अवस्था देखिँदैन। तर हामीले अझै तीव्रता दिएर त्यतिबेलासम्म सकभर पुनर्निर्माणको काम सक्नुपर्छ।"

सरकारी टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको झण्डै पौने घण्टा लामो सम्बोधनमा ओलीले पटक-पटक जनतालाई साथै लिएर पुनर्निर्माणका काम अघि बढाइनुपर्नेमा जोड दिएका थिए।

भूकम्पप्रतिरोधी बलिया घरहरू निर्माणका लागि कतिपय पुराना मूल्य मान्यता र परम्पराहरू पनि तोडेर अघि बढ्नुपर्ने भन्दै सरकारले खुल्ला क्षेत्रहरू जोगाउन ध्यान दिने पनि उनले बताए।

तस्वीर कपीराइट EPA

त्यसका लागि जग्गा अतिक्रमण गर्नेहरूविरूद्ध कडा रूपमा सरकार प्रस्तुत हुने पनि उनले सुनाए।

त्यसबाहेक भूकम्पबाट जोगिन अपनाउनुपर्ने उपायका बारेमा पनि चर्चा गरेका ओलीले मानिसहरूलाई ठूला भूकम्प आउँदा घरभित्रका सुरक्षित स्थानभन्दा पनि घर बाहिर सुरक्षित स्थानमा निस्कने गरी सचेतना जगाउन पनि ओलीले सुझाव दिए।

धरहरा

आफ्नो सम्बोधनको ठूलो हिस्सा ओलीले धरहराको पुनर्निर्माण र त्यसमा भएका विलम्बको चर्चामा बिताएका थिए।

त्यसक्रममा ओलीले धरहरा नेपालीहरूको 'उचाइको स्वाभिमान' भएको भन्दै त्यसको पुनर्निर्माणलाई उच्च प्राथमिकता दिनुपर्ने बताए।

उनले धरहराको पुनर्निर्माणसँग कुनै व्यवसायिक स्वार्थ जोड्न नदिने उल्लेख गर्दै जनताकै योगदान र लगानीबाट त्यसको पुनर्निर्माण गरिने उल्लेख गरे।

ओलीले भने "मै धरहरा बनाउँछु भन्ने कुरा यो देशको नै नारा हुनुपर्छ, श्रमदान गर्न आउनुपर्छ भने म आफैँ कोदालो बोकेर आउँछु, इँटा बोक्नुपर्छ भने खर्पन लिएर आउँछु। तर हामीले यही तरिकाबाटै काम थाल्नुपर्छ।"

धरहराबाहेक राजधानीका रानीपोखरी, काष्ठमण्डपसहितका संरचनाको पुनर्निर्माणमा पनि उनले जोड दिए।

कतिपय दातृ निकायबाट प्रतिबद्धता बमोजिमका सहयोग नआएका भन्ने विवरणप्रति संकेत गर्दै ओलीले त्यस्ता प्रतिबद्धता कार्यान्वयन गर्न सहयोगका लागि वचन दिएका निकायलाई घच्घच्याइरहनुपर्ने उल्लेख गरे।

सम्बन्धित सामग्री