भूकम्प: धरहरा पहिलाको जस्तै नौतले कि २२ तले?

  • 26 एप्रिल 2018
धरहरा तस्वीर कपीराइट KP OLI twitter

प्रधानमन्त्री केपी ओलीले शक्तिशाली मन्त्रीहरूका साथ भूकम्पले भत्किएको धरहराको ठुटोअगाडि उभिएर त्यसलाई जस्ताको तस्तै ठड्याउने उद्घोष गरे।

तर पुरातत्त्व विभागले अन्तिम रूप दिएको र पुनर्निर्माण प्राधिकरणले बनाउने भनिएको नयाँ धरहरा पहिलेको भन्दा झन्डै साढे दुई गुणा अग्लो हुने देखिएको छ।

त्यस्तो धरहराको निर्माणलाई सम्पदाको संरक्षण मान्न नसकिने भन्दै पुरातत्त्वविद्ले आलोचना गरेका छन्।

यसअघि प्रधानमन्त्री छँदा पनि ओलीले "म बनाउँछु मेरो धरहरा" भन्दै धरहराको पुनर्निर्माणमा जोड दिएका थिए।

'स्वाभिमान'

भूकम्प गएको तेस्रो वर्ष फेरि प्रधानमन्त्री ओलीले धरहराको भग्नावशेषछेउ उभिएर भने, "धरहरा हाम्रो मान हो, आन हो, स्वाभिमान हो "

म बनाउँछु मेरो धरहरा भन्ने नारा आएपछि नेपालको नाफामा रहेको संस्था टेलिकमले साथ दिने घोषणा गरेपछि धेरैलाई लाग्यो धरहरा बनिहाल्ने भयो।

तर टेलिकमको प्रस्ताव पुरातत्त्व विभागले स्वीकार गरेन।

विभागका महानिर्देशक भेषनारायण दाहाल भन्छन्, "तेह्र रोपनीमा व्यावसायिक कम्प्लेक्स सहितको प्रस्ताव हामीले स्वीकार गरेनौँ।"

टेलिकमको धरहरा बनाउन देखाएको रुचि र त्यसबाट बाहिर निस्कने प्रक्रियामा समय खेर गएको अधिकारीहरू बताउँछन्।

त्यसपछि धरहरा बनाउने अधिकार पाएको प्राधिकरणले अन्तिम तयारी स्वरूप माटो परीक्षण गर्न लगाएको बताइएको छ।

'दुई वर्षमै'

प्राधिकरणका प्रवक्ता यमलाल भुसाल भन्छन्, "माटो परीक्षणको प्रतिवेदन आएपछि ठेक्कामा दिने प्रक्रिया सुरु हुन्छ। ठेक्का दिएको दुई वर्षमा धरहरा निर्माण पूरा हुनेछ।"

झन्डै साढे दुई सय वर्षअघि तत्कालीन मुख्तियार भीमसेन थापाले बनाउन लगाएको धरहरा विसं १९९० को भूकम्पमा भत्कियो।

तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले पुरानै शैलीको धरहरा ठड्याए।

तर अहिले प्रस्ताव गरिएको चार अर्ब रुपैयाँ हाराहारी खर्चमा बनाउने भनिएको पहिलेको नौतले संरचनाको साटो नयाँ २२ तले धरहरालाई सम्पदाको संरक्षण मान्न नसकिने पुरातत्त्वविद् डा. सुदर्शनराज तिवारी बताउँछन्।

धरहरा सम्पदा हो या एक अर्को व्यावसायिक स्तम्भ भन्ने नठम्याईकन प्रस्तावित २२ तले टावर ठड्याउने हो भने प्रधानमन्त्री ओलीको आजको भनाइ अर्थहीन हुने जानकारहरू बताउँछन्।

सम्बन्धित सामग्री