ट्रम्पकै भूमिमा ट्रम्पलाई टक्कर

  • 26 एप्रिल 2018
फ्रान्स तस्वीर कपीराइट AFP

फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले अमेरिकाका दुइटै सदनमा गरेको सम्बोधनमा आफ्ना समकक्षी डोनल्ड ट्रम्पका केही नीतिहरूलाई चुनौती दिएका छन्। विशेषगरी राष्ट्रवाद र 'पहिला अमेरिका' भन्ने ट्रम्पका नीतिहरूप्रति सांकेतिक रूपमा उनले असन्तुष्टि व्यक्त गरे। बीबीसीका उत्तर अमेरिका सम्पादक जोन सोपेलको विश्लेषण।

राष्ट्रपति माक्रोँले विश्वका अन्य नेताहरूलाई डोनल्ड ट्रम्पलाई कसरी सामना गर्ने भन्ने शिक्षा उत्कृष्ट शैलीमा दिएका छन्।

एकदमै नजिक हुने, आवश्यक पर्दा ठट्टा गर्ने तर आफ्ना अडानहरू सशक्त ढङ्गले राख्ने नेताका रूपमा उनले आफूलाई उभ्याएका छन्।

एकदमै चलाखीपूर्ण रूपमा तयार गरिएको सम्बोधनमा उनले आफू र अमेरिकी राष्ट्रपतिबीचको निकटता कतिपयका लागि एकदमै हार्दिकतापूर्ण रहेको उल्लेख गरे।

माक्रोंद्वारा ट्रम्पका कतिपय नीतिलाई चुनौती

आलोचना

उनले फ्रान्स र अमेरिकाबीच रहेको एकदमै विशेष सम्बन्धको चर्चा गरेका थिए।

तर त्यसपछि उनले ट्रम्पका नीतिहरूको आलोचना गरे।

उनले खुल्ला व्यापार, विज्ञानको महत्त्व र समानताको कुरा गरे र ट्रम्पको 'पहिला अमेरिका' भन्ने नीतिबारे पनि बोले।

एमानुएल माक्रों को हुन्?

तस्वीर कपीराइट AFP

माक्रोँले ट्रम्पको 'अमेरिकालाई पुन: महान् बनाऊँ' नारालाई वातावरणको संरक्षण र अमेरिका अलग भएको जलवायु परिवर्तनसम्बन्धी प्यारिस सम्झौतासँग जोडेका थिए।

आलोचना

त्यसक्रममा उनले पृथ्वीलाई फेरि महान् बनाउने समय आएको बताए।

भाषणका क्रममा ताली र समर्थन गुञ्जिएका थिए। त्यो अमेरिकी संसद्का लागि अक्षण थियो।

ट्रम्पसँग निकट सम्बन्ध कायम राखेका माक्रों विश्वलाई अमेरिकी राष्ट्रपतिको भन्दा एकदमै फरक र प्रतिस्पर्धी दृष्टिकोण दिने विश्व नेताका रूपमा उदाएका छन्।

यो उनको महत्त्वपूर्ण राजनीतिक उपलब्धि हो।