वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ‘घट्दो’

  • 27 एप्रिल 2018
कामदार

नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा पछिल्ला वर्षहरूमा कमी आएको एउटा ताजा अध्ययनले देखाएको छ।

नेपाल सरकार, अन्तर्राष्ट्रिय श्रम संगठन, अन्तर्राष्ट्रिय आप्रवासन संगठन लगायत मिलेर आर्थिक वर्ष २०७२/७३ र ७३/७४ को आँकडा विश्लेषण गरेका थिए जसअनुसार करिब सवा ५ प्रतिशतले कमी आएको पाइएको छ।

गन्तव्य मुलुकमा भएका नीति परिवर्तन, भूकम्प र त्यसपछिको परिस्थिति लगायतका कारणले संख्यामा कमी आएको हुनसक्ने अधिकारीहरु ठान्छन्।

यस्तो कमीसँगै देशको अर्थतन्त्रको प्रमुख खम्बा रेमिट्यान्सको परिमाण पनि चिन्ताजनक रुपमा घटेको उनीहरुले बताएका छन्।

कामदार मृत्युको मुख्य कारण 'मुटुको समस्या'

चिन्ता

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या तीव्र रुपमा घट्ने क्रम आर्थिक वर्ष २०७०/७१ देखिनै सुरु भएको देखिन्छ।

त्यतिबेला करिब सवा ५ लाख नेपाली गएको सरकारी आँकडामा छ जुन संख्या पछिल्लो आर्थिक वर्षसम्म आइपुग्दा पौने ३ लाखभन्दा केही हजार बढीको विन्दुमा झर्यो।

ताजा प्रतिवेदनले पछिल्लो दुई आर्थिक वर्षको विश्लेषणमात्रै गरेको छ र त्यसमा पनि करिब सवा ५ प्रतिशतले कमी देखिन्छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले भने, "आर्थिक वर्ष २०७२/७३ मा ४ लाख ३ हजार जति विदेश गएको देखिन्छ। त्यो संख्या ०७३/०७४ मा ३ लाख ८२ हजार जति छ"।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
विनोद श्रेष्ठ र गोविन्दमणि भुर्तेलसँग

सबैभन्दा बढी कुन मुलुकमा जाने क्रम घटेको छ त?

जवाफमा श्रम मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीले भने, "मलेसियामा ह्वात्तै घटेको छ। २०७०/७१ मा २ लाख १० हजार भएकोमा ०७२/७३ मा ५९ हजारमा झरेको छ। ०७३/७४ मा ९५ हजार पुगेपनि २०७०/७१ को तुलनामा त्यो निकै कम हो"।

कारण

अहिले करिब १५३ मुलुकमा वैधानिक रुपमा नेपाली कामदार गइरहेको बताइन्छ।

कतारजाने नेपाली कामदार चिन्तित

वैदिशक रोजगारीमा जाने क्रम घट्नुका कारणबारे प्रष्ट तस्बिर त देखिन्न।

सरकारी अध्ययनले देखाएको सम्भावित कारणबारे सचिव महेशप्रसाद दाहालले भने, "देशभित्रै पनि अवसर सिर्जना भएर होला। भूकम्पको कारण र गन्तव्य देशमा हुन लागेको नीतिगत परिवर्तनले पनि असर पारेजस्तो देखिन्छ"।

वैदेशिक रोजगारी जानेको संख्या घटेसँगै देश भित्रिने रेमिटेन्समा पनि कमी आएको छ।

सचिव दाहालले भने, "०७३/०७४ मा ६ सय ९९ अर्ब बराबरको रेमिटेन्स प्राप्त भएको छ। त्यो कुल गाह्रस्थ उत्पादनको करिब २७ प्रतिशत हो। त्योभन्दाअघि त्यसको योगदान साढे २९ प्रतिशत थियो"।

वैधानिक माध्यमबाट गएका नेपाली कामदारहरूको संख्यालाई मात्रै पछिल्लो अध्ययनले आधार मानेको छ, तर अन्य माध्यमबाट जाने कामदारको संख्या पनि ठूलो देखिन्छ।

त्यो क्रममा भने कमी आए, नआएको प्रष्ट छैन।