नेपाली कांग्रेस: पराजयको 'मुख्य कारण वाम गठबन्धन'

  • 29 एप्रिल 2018
कांग्रेस तस्वीर कपीराइट RSS

सङ्घीय संसदीय एवम् प्रदेशसभाका निर्वाचनमा खेप्नुपरेको पराजयको समीक्षा गरिरहेको प्रमुख विपक्षी नेपाली कांग्रेसले त्यसको जिम्मेवारी पार्टी सभापतिले मात्रै नभई संयुक्त रूपमा केन्द्रीय तप्काले लिने निष्कर्ष निकालेको छ।साथै दलभित्र तीव्र विवादको विषय रहेको बहुचर्चित महासमितिको बैठक भदौ महिनामा गर्ने निर्णय गरेको छ।

चैतको पहिलो साताबाट सुरु भई बीचमा रोकिँदै अनि बस्दै आएको पार्टी केन्द्रीय समिति बैठकलाई आइतवार विश्राम दिँदै कांग्रेसले त्यस्तो निर्णय लिएको हो।

सरसर्ती हेर्दा पार्टी सभापति शेरबहादुर देउवापक्षले उठाएका अधिकांश विषयले औपचारिकता पाएजस्तो देखिन्छ तर असन्तुष्ट पक्षले आफूहरूका कतिपय माग पनि पूरा भएकाले पछिल्लो निर्णयमा सहमति जनाएको बताएको छ।

हारको मुख्य कारण

यसपालिको निर्वाचनमा चार वर्षअघिको भन्दा मत प्रतिशतमा सुधारको भएको उल्लेख गर्दै विपक्षी दलहरूको गठबन्धन आफू हार्नुको मुख्य कारण भएको तर्क कांग्रेसले गरेको छ।

कांग्रेसद्वारा जारी गरिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयमा भनिएको छ , "विपक्षी कम्युनिस्ट गठवन्धनले भारतले लगाएको नाकाबन्दीका कारण पीडित नागरिकको मत आफ्नो पक्षमा प्रभावित पार्न सफल भयो।"

त्यसबाहेक उम्मेदवारी चयन प्रक्रियामा अपर्याप्त गृहकार्य, अनुशासनहिनता एवम् आन्तरिक व्यवस्थापनमा कमजोरी जस्ता कारणले गर्दा पनि दलले क्षति बेहोर्नु परेको निष्कर्ष निकालेको छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
'चुनावी हारको देउवामात्रै एक्ला दोषी होइनन्'

विमति

चुनावी हारको समीक्षा गर्न केन्द्रित कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा पराजयको जिम्मेवारी कसले लिने भन्ने विषयमा पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विमति थियो।

त्योलगायतका कारणले बैठकलाई विश्राम दिन कांग्रेसले सकेको थिएन।

देउवापक्ष निर्वाचनमा पराजयको जिम्मेवारी संसदीय बोर्डका सबै सदस्यले लिनुपर्ने अडानमा थियो भने अर्को पक्ष नेतृत्वकर्ताको हैसियतले देउवा जिम्मेवार रहेको धारणामा थियो।

तर अब त्यो विषय सल्टिएजस्तो देखिन्छ।

आइतवार साँझ सकिएको बैठकको निर्णयबारे नेता गोपालमान श्रेष्ठले भने, "पराजयको बारेमा सामूहिक जिम्मेवारी लिएका छौँ। नेकपा एमाले र माओवादी केन्द्रबीच भएको चुनावी गठबन्धनले पनि हाम्रो पराजय भएको हो। अब हामीले लोकतन्त्रवादी साथी र दलहरूलाई नेपाली कांग्रेसको छातामा एकबद्ध भएर अगाडि बढ्न आह्वान गरेका छौँ।"

'एकता'

लामो समय स्थगित हुँदै आएको कार्यसमिति बैठकमा आइतवार महामन्त्री शशांक कोइरालाले प्रस्ताव गरेको जिल्ला सभापतिहरूको भेला र महासमिति बैठकको मिति पनि पारित भएको बताइएको छ।

नेता गोपालमान श्रेष्ठले भने, "जेठ महिनाको अन्त्यतिर सभापतिहरूको सम्मेलन गर्ने र भदौ महिनामा महासमितिको बैठक गर्ने भन्ने निर्णय गरेका छौं। तर यसको मिति तोकिएको छैन।"

चुनावी हारको जिम्मेवारी र महासमिति बैठकको मितिबारे रहेको तीव्र विवाद हल भएर पार्टी एकमत रहेको सन्देश कांग्रेस नेताहरूले दिन खोजेकोजस्तो देखिन्छ।

तर अझै विवाद रहेको नेता नवीन्द्रराज जोशीको यो भनाइमा झल्किन्छ।

उनी भन्छन्, "संसदीय बोर्ड विधानविपरीत भएकोले त्यसलाई विघटन गर्ने र कार्य सम्पादन समिति विघटन गर्ने र पुनर्गठन गर्ने कुरा आएका छन्। त्यसैले गर्दा धेरै ठूलो असन्तुष्टि हुँदाहुँदै पनि पार्टी एकताको सन्देश जाओस् भन्ने उद्देश्यले सहमति जनाएका हौँ।"

यो वा त्यो पक्षमा विभक्त देखिने कांग्रेसको विवाद अहिलेलाई केही साम्यजस्तो भएपनि महासमिति बैठक र पदाधिकारी नियुक्तिमा अझ प्रकट हुने जानकारहरू ठान्छन्।

सम्बन्धित सामग्री