'भारतका सबै गाउँमा बिजुली'

  • 30 एप्रिल 2018
भारत बिजुली तस्वीर कपीराइट Getty Images

भारतका सबै गाउँहरूमा अब बिजुली पुगेको प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेका छन्।

शनिवार उत्तरपूर्वी राज्य मणिपुरस्थित विद्युत् सञ्जालमा जोडिन बाँकी रहेको एउटा गाउँमा बिजुली पुगेपछि मोदीको त्यस्तो घोषणा आएको हो।

विश्व ब्याङ्कको आँकडामा भारतका अझै २० करोड मानिस बिजुलीको पहुँचभन्दा बाहिर रहेको देखिन्छ।

कुनै पनि गाउँ बिजुलीको पहुँचमा रहेको भनेर जनाउन त्यहाँ रहेका १० प्रतिशत घरहरू तथा सबै सार्वजनिक भवनहरू विद्युत् सञ्जालमा जोडिएको हुनुपर्छ।

दाबी

भारतका झन्डै ६ लाख गाउँहरूमध्ये सबै अब बिजुलीको पहुँचमा रहेको मोदीले बताएका छन्।

सम्वाददाताहरूका अनुसार एसियाको तेस्रो ठूलो अर्थतन्त्र भारतका लागि यो एउटा ठूलो सफलता हो।

तर केही मानिसहरूले सामाजिक सञ्जाल ट्विटरमा सरकारले दाबी गरे पनि आफ्ना गाउँहरूमा बत्ती पुग्न अझै बाँकी रहेको उल्लेख गरेका छन्।

भारत विश्वकै सबैभन्दा तेस्रो ठूलो विद्युत् उत्पादक तथा प्रयोगकर्ता हो। तर फितलो वितरण प्रणाली ठूलो चुनौतीको रूपमा रहिआएको छ।

फितलो वितरण

सन् २०१५ को अगस्टमा मोदीले सन् २०१८ को अन्त्यसम्ममा भारतका सबै घरहरूमा बत्ती पुर्‍याउन साढे दुई अर्ब डलर बराबरको एउटा योजना सार्वजनिक गरेका थिए।

सो योजनाअन्तर्गत मानिसहरूको बसोबास रहेको देशका सबै पाँच लाख ९७ हजार ४ सय ६४ गाउँहरू तथा पचास लाखभन्दा धेरै घरधुरीहरू विद्युत् प्रवाहमा जोडिएका छन्।

बिजुली पुगेको परिभाषालाई मान्ने हो भने भारतका सबै गाउँहरू बिजुली पुगेको छ।

तर सरकारी तथ्याङ्कका अनुसार तमिलनाडु, केरला, आन्ध्र प्रदेश, पन्जाब, गोआ तथा गुजरात गरी जम्मा छ वटा राज्यमा मात्रै सबै घरमा बिजुली पुगेको छ।

यसका साथै सरकारी स्वामित्वमा रहेको ऊर्जा वितरण कम्पनीहरूले ऋण तथा ऊर्जाको कम माग खेप्नुपरेको छ।

यसले व्यावहारिक रूपमा हरेक घरमा बिजुली पुर्‍याउन कठिनाइ उत्पन्न गराएको बताइएको छ।

सम्बन्धित सामग्री