'भारतीय प्रधानमन्त्री मोदी सोझै जनकपुर आउने'

  • 1 मे 2018
मोदी तस्वीर कपीराइट Getty Images

वैशाख २८ गते नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहारको पटनाबाट सोझै जनकपुरधाम आइपुग्ने र त्यहाँबाट अर्को तीर्थस्थल मुक्तिनाथ जाने जानकारी गृहमन्त्री रामबहादुर थापाले दिएका छन्।

थापाका अनुसार मोदीलाई स्वागत गर्न प्रधानमन्त्री केपी ओली जनकपुर आउने सम्भावना रहेको छ।

भारतीय प्रधानमन्त्रीको भ्रमणका लागि सुरक्षाव्यवस्था र स्वागतको तयारीबारे बुझ्न उच्चपदस्थ सुरक्षा अधिकारीहरूसहित गृहमन्त्री थापा मङ्गलवार जनकपुर आएका हुन्।

धार्मिक भ्रमण

सञ्चारकर्मीहरूसित संक्षिप्त कुरा गर्दै मन्त्री थापाले मोदीको यो राजनीतिक नभएर धार्मिक भ्रमण भएको र दुई देशबीच कुनै सम्झौता नहुने बताए।

"यस पटक कुनै सम्झौता हुने छैन," उनले भने, "प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएकै बेला यो भ्रमणको कार्यक्रम बनेको थियो।"

Image caption भारतीय प्रधानमन्त्रीको भ्रमणका लागि सुरक्षाव्यवस्थाबारे बुझ्न सुरक्षा अधिकारीहरूसहित गृहमन्त्री थापा जनकपुर आएका हुन्

थापाका अनुसार हेलिकप्टरबाट मोदी बाह्रबिघा मैदानमा ओर्लिनेछन्।

साथमा भारतीय सेनाका तीनवटा विमान पनि आउने बुझिएको छ।

यसअघि सन् २०१४ मा मोदी बिहारबाट सडकबाटो हुँदै जनकपुर आउने योजना थियो ।

तर पछि त्यो योजना स्थगित भयो।

पटनाबाट जनकपुरधामको सडकदूरी १२३ किलोमिटर छ।

मुक्तिनाथ

"जनकपुरधामको बाह्रबिघामा ओर्लेर उहाँले जानकी मन्दिरमा पूजाआजा गर्नु हुनेछ," मन्त्री थापाले भने।

त्यसपछि उनी बाह्रबिघाको मैदानमा गर्न लागिएको नागरिक अभिनन्दनमा सहभागी हुनेछन्।

प्रधानमन्त्री मोदी जनकपुरधामबाट हेलिकोप्टरमा मुस्ताङस्थित मुक्तिनाथ जानेछन्।

तस्वीर कपीराइट RSS

त्यहाँबाट साँझ काठमाण्डू पुग्ने कार्यक्रम रहेको मन्त्री थापाले बताए।

प्रदेशको प्रबन्ध

गृहमन्त्रीको टोलीले प्रदेश नम्बर २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीसित सुरक्षा बन्दोबस्तबारे जानकारी लियो ।

भारतीय प्रधानमन्त्रीको जनकपुरधामको भ्रमणको स्वागत र सुरक्षाको सबै प्रबन्ध प्रदेश सरकारले गर्ने जनाउँदै गृहमन्त्री थापाले भने, 'सङ्घीय सरकारले समन्वय गर्ने छ।"

तस्वीर कपीराइट India PMO
Image caption प्रधानमन्त्री ओली गत महिना भारतको राजकीय भ्रमणमा गएका थिए

स्रोतहरूका अनुसार भ्रमणका बेला नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका विशेष तालिमप्राप्त सात हजार सुरक्षाकर्मी परिचालित हुनेछन्।

भारतका उच्च सुरक्षा अधिकारी एवम् नेपालस्थित भारतीय राजदूतावास र वाणिज्य दूतावासका अधिकारीहरूले तयारी र सुरक्षाको नियमित निरीक्षण गरिरहेको बताइएको छ।

बाह्रबिघा र जानकी मन्दिरबीचको सडक मर्मतलाई तीव्रता दिइएको छ। साथै बाह्रबिघा मैदानमा ५० हजारभन्दा बढी मानिस अटाउने पानी छेक्ने वाटरप्रुफ पाल बनाउन लागिएको छ।

सम्बन्धित सामग्री