अफगानिस्तान: सुरक्षा फौजको 'जनशक्ति तीव्र रूपमा घट्दै'

  • 1 मे 2018
अफगानिस्तान

गत बाह्र महिनामा अफगान सुरक्षा फौजमा जनशक्ति एकदमै घटेको अमेरिकी सरकारको एउटा संस्थाले जनाएको छ।

विभिन्न आक्रमणहरूमा हताहत हुनेको सैनिकको सङ्ख्या उच्च रहेको र फौज परित्याग गर्ने क्रमबारे प्रकाशित विवरणहरूबीच नयाँ प्रतिवेदन आएको हो।

सुरक्षा फौजका सदस्यको सङ्ख्या १० प्रतिशतले झरेर तीन लाख भन्दा तल पुगेको सो प्रतिवेदनमा उल्लेख छ।

शृंखलाबद्ध आक्रमणहरूमा परी झन्डै ४० जनाको ज्यान गएको भोलिपल्ट नै यो प्रतिवेदन सार्वजनिक भएको हो।

खण्डन

अफगान रक्षा मन्त्रालयले यो विवरणको खण्डन गरेको छ ।

एक सरकारी प्रवक्ताले सो प्रतिवेदन शत प्रतिशत तथ्यपरक नभएको र लडाकुहरू तथा अन्य माफिया समूहहरूसँग लड्न चाहिने संख्यामा सैनिकहरू भएको बीबीसीलाई बताएका छन्।

आफ्नो सैनिकहरूको मनोबल उच्च भएको र देशभरि सैन्य कारबाही जारी राखिएको ती प्रवक्ता बताएका छन्।

स्पेशल इन्सपेक्टर जनरल फर अफगानिस्तान रिकन्स्ट्रक्शन (सिगार) नामक संस्थाले सार्वजनिक गरेको उक्त प्रतिवेदनका अनुसार तालिबानसहित अन्य लडाकु समूहहरूको नियन्त्रणमा थप मानिसहरू पर्दै गएको जनाइएको छ।

'चिन्ताजनक'

उसका अनुसार तालेबान तथा अन्य लडाकु समूहरूको अफगानिस्तानका ४०७ जिल्लाहरुमध्ये हाल १४.५ प्रतिशत क्षेत्रमाथि नियन्त्रण वा प्रभाव रहेको छ। त्यस्तो संख्या सो संस्थाले सन् २०१५ को अन्ततिरबाट तथ्याङ्क राख्न थालेयताकै उच्च हो।

सो संस्थाका प्रमुख जोन सोप्कोले रोएटर्स समाचार संस्थालाई बताएअनुसार संयुक्त राज्य अमेरिका तथा उसका अन्तर्राष्ट्रिय साझेदारहरूका लागि अफगान फौजको सुदृढीकरण उच्च प्राथमिकता रहेको छ । उनका अनुसार फौजको शक्ति कमजोर हुनु चिन्ताजनक विषय हो।

तालिबानलाई परास्त गर्न अमेरिकी नेतृत्वको फौजले अर्बौं डलर रकम खर्च गरिसकेको छ।

अफगान सरकारले देशका सबैजसो भाग आफ्नो नियन्त्रणमा भएको बताउने गरेको छ। तर हालैका महिनामा तालिबान तथा इस्लामिक स्टेट समूहले राजधानी काबुल र अन्य स्थानमा आफूले गरेको दाबी गरेको आक्रमणहरूमा कैयौँ मानिसको ज्यान गएको छ।

यसै वर्षको आरम्भमा बीबीसीले गरेको एक अध्ययनले तालिबान अफगानिस्तानको तीनचौथाइ भागमा सक्रिय रहेको देखाएको थियो।

सम्बन्धित सामग्री