भारत: पत्रकारको हत्यामा छोटा राजनलाई आजीवन कारावास

  • 2 मे 2018
छोटा राजन् तस्वीर कपीराइट Getty Images
Image caption सन् २०१५ मा इन्डोनेसियाबाट भारत ल्याएपछि छोटा राजनलाई हिरासतमा राखिएको थियो

भारतमा कुख्यात गिरोहनाइके छोटा राजनलाई सन् २०११ मा भएको एक जना पत्रकारको हत्याको अभियोगमा दोषी पाइएपछि आजीवन कारावासको सजाय सुनाइएको छ।

सङ्गठित अपराधको विश्वमा छोटा राजन भनेर चिनिने राजेन्द्र सदाशिव निकल्जेले सात वर्षअघि खोज पत्रकार ज्योतिर्मय डेको हत्याको निर्देशन दिएको ठहर मुम्बईको एउटा अदालतले गरेको हो।

डेलाई मोटरसाइकलमा आएका चार व्यक्तिको समूहले गोली हानेको थियो।

तस्वीर कपीराइट Getty Images

छोटा राजनलाई आठ सहयोगीसहित उक्त हत्यामा बुधवार दोषी ठहर गरिएको हो।

सो मुद्दाका एक जना सन्दिग्ध अझै फरार रहेका र अर्का एक जनाको मृत्यु भइसकेको बताइएको छ।

पत्रकार जिज्ञा भोरा र अर्का एक जना अभियुक्तलाई प्रमाण नपुगेको भन्दै अदालतले सफाइ दिएको छ।

डेले तयार पारेका समाचार सामग्रीबाट छोटा राजन क्रुद्ध भएको बताइएको छ।

विगत

सन् २०१५ मा इन्डोनेसियाबाट भारत ल्याइएपछि छोटा राजन प्रहरीको हिरासतमा राखिएको थियो।

आपराधिक गिरोहको नाइके बन्नुअघि राजन मुम्बईमा सानातिना अपराधहरूमा संलग्न भएको बताइन्छ।

दुई वर्षअघि अस्ट्रेलियाबाट बाली आएर नक्कली परिचयसहित बसिरहेको अवस्थामा उनी पक्राउ परेका थिए।

पत्रकार डेको हत्या भएको देख्ने साक्षी नभए पनि अन्य १५५ जनाले अभियोगका पक्षमा बयान दिएका थिए।

अनुसन्धान

तस्वीर कपीराइट Getty Images

डे मुम्बईमा अपराधसँग सम्बन्धित विषयवस्तुमा समाचार लेख्ने उत्कृष्ट पत्रकार थिए।

उनले मुम्बईको भूमिगत अपराधको साम्राज्य र तिनका नाइकेहरूबारे समाचार लेखेका थिए।

डेको हत्यापछि मुम्बईमा पत्रकारहरूले सुरक्षाको माग गर्दै विरोधप्रदर्शन गरेका थिए।

मुम्बई प्रहरीले अनुसन्धान थालेको भए पनि पछि डेको हत्याको विषय केन्द्रीय गुप्तचर निकायलाई हस्तान्तरण गरिएको थियो।

छोटा राजनविरुद् हत्या, असुली र लागुपदार्थ तस्करीका अरू आरोपहरू पनि छन्।

सम्बन्धित सामग्री

सम्बन्धित समाचार