भारत: धूलोयुक्त आँधीमा दर्जनौँको मृत्यु

  • 3 मे 2018
आँधी तस्वीर कपीराइट AFP

उत्तरी भारतमा आएको धूलोयुक्त शक्तिशाली आँधीका कारण कम्तीमा झन्डै सय जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

उक्त आँधीले खासगरी राजस्थान र उत्तर प्रदेश प्रभावित भए।

बुधवार आएको उक्त आँधीका कारण ठाउँठाउँमा बिजुली अवरुद्ध भएको, रूखहरू ढलेका, घरहरू भत्किएका र वस्तुभाउ पनि मारिएका विवरणहरू आएका छन्।

उत्तर प्रदेशमा ६४ जना हताहत भए। प्रसिद्ध पर्यटकीय गन्तव्य ताजमहल भएको आग्रा जिल्लामा मात्रै ३६ जनाको ज्यान गयो।

आँधीले राजस्थानको अलवर, भरतपुर, र ढोलपुर सबभन्दा धेरै प्रभावित भए। त्यहाँ ३१ जनाको ज्यान गयो।

सङ्ख्या बढ्न सक्ने

अधिकारीहरूले हताहत हुनेको सङ्ख्या बढ्न सक्ने बताएका छन्।

उत्तर प्रदेशमा रूख ढलेर र पर्खाल भत्केर धेरै जना मारिएका हुन्।

राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले अधिकारीहरूलाई राहत कार्यक्रमको अनुगमन गर्न निर्देशन दिएका छन्।

आँधीले राजस्थानको अलवर, भरतपुर, र ढोलपुर सबभन्दा धेरै प्रभावित भए। त्यहाँ ३१ जनाको ज्यान गयो।

अनौठो

यो याममा धूलोयुक्त आँधी आउनु उत्तर भारतमा स्वाभाविक भए पनि यति परिमाणमा मानिसहरू हताहत हुनु अनौठो मानिएको छ।

तस्वीर कपीराइट AFP

राजस्थानको राज्य सरकारले मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप भारु चार लाख दिने घोषणा गरेको छ।

अलवरमा विद्यालयहरू पनि बन्द भएका छन्।

"म यो कार्यालयमा रहेको २० वर्षभन्दा बढी भयो तर यत्तिको नराम्रो अवस्था यसअघि मैले देखेको थिइनँ," राजस्थानका विपद् व्यवस्थापन सचिव हेमन्त गेराले बीबीसीलाई बताए।

बुधवार साँझ राजधानी दिल्लीमा पनि ठूलो वर्षासहित आँधी आएको थियो।

सम्बन्धित सामग्री