पाकिस्तानी मूलका ब्रिटिश गृहमन्त्रीका चुनौतीहरू

  • 3 मे 2018
जावेद तस्वीर कपीराइट Reuters

पाकिस्तानी मूलका नेता साजिद जावेद ब्रिटिश गृहमन्त्री बनेपछि एउटा नयाँ कीर्तिमान बनेको छ।

उनी ब्रिटेनको इतिहासमा त्यो पदमा पुग्ने पाकिस्तानी मूलका पहिलो नेता हुन्।

जावेदको जन्म सन् १९६९ मा ब्रिटेनको रोजडेल नामक नगरमा भएको हो।

उनका पिता अब्दुल गनी सन् १९६० मा पाकिस्तानको एउटा गाउँबाट काम खोज्दै ब्रिटेन पुगेका थिए।

विभाजन

उनीहरूको परिवार भारत-पाकिस्तान विभाजनबाट पीडित सयौँ परिवारमध्ये एक हो।

तस्वीर कपीराइट PA
Image caption सन् २०१६ मा टाटा स्टीलका कर्मचारीहरूसँग कुरा गर्दै जावेद

जावेदका मातापिताको जन्म भारतमा भएको थियो। विभाजनपछि उनीहरू पाकिस्तानतिर गए।

उनले अङ्ग्रेजी समाचारपत्र 'द गार्डिएन'लाई बताएअनुसार जावेदका पिता अब्दुल गनी ब्रिटेन पुग्दा उनको खल्तीमा केवल एक पाउन्ड थियो।

सन् २०१२ मा इभनिङ स्ट्यान्डर्डमा प्रकाशित एउटा अन्तर्वार्तामा उनले ब्रिटेन आएपछि आफ्ना पिताले गरेका सङ्घर्षबारे बताएका थिए।

जावेद भन्छन्, "रोजडेलमा बस्न थालेपछि मेरा बुवाले कपडाको मिलमा काम गर्न थाल्नुभयो। उहाँ निकै महत्त्वाकाङ्क्षी हुनुहुन्थ्यो र उहाँले बस चलाउँदा धेरै कमाइ हुने देख्नुभयो।"

विगत

आफ्नो कार्यालयमा ब्रिटेनकी भूतपूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरको तस्बिर राखेका जावेद पहिलो पटक सन् २०१० मा सांसद बनेका थिए।

तस्वीर कपीराइट PA

उनी २५ वर्षको कलिलो उमेरमै चेस म्यानहेटन ब्याङ्कमा उपाध्यक्षको पदमा कार्यरत थिए।

सांसद बन्नुअघि उनी डच ब्याङ्कमा प्रबन्धनिर्देशक थिए।

गृहमन्त्री बन्नुअघि अघि उनी अर्थमन्त्री थिए।

विवाद

बीबीसीकी राजनीतिक मामिलासम्बन्धी सम्पादक लौरा क्वुन्स्‌बर्गका अनुसार नयाँ भूमिकामा जावेद अहिलेसम्म विवादमा परेका छैनन्।

तर अर्थमन्त्री हुँदा टाटा स्टील सङ्कट तथा कम्युनिटिज मन्त्री हुँदा ग्रेन्फेल घटनापछि उनले विवादहरूको सामना गर्नुपरेको थियो।

गृहमन्त्रीको रूपमा जावेदसमक्ष 'विन्ड्‌रश विवाद' समाधान गर्नुपर्ने चुनौती छ।

तस्वीर कपीराइट PA

यही विवादका कारण एम्बर रडले गृहमन्त्रीको पदबाट राजीनामा दिनुपरेको थियो।

रडले राजीनामा दिनुअघि विन्ड्‌रश भनिने क्यारिबियन क्षेत्रबाट ब्रिटेन आएर वैधानिक रूपमै बसोबास गरिरहेका व्यक्ति र तिनका परिवारसँग भएको दुर्व्यवहारबारे समाचारहरू प्रकाशित भए।

उनीहरूको ब्रिटेनमा बस्ने अधिकारबारे प्रश्न उठाइए पछि सरकारको आप्रवासनसम्बन्धी नीतिको आलोचना भयो।

आफ्नो आप्रवासी पृष्ठभूमि उल्लेख गर्दै जावेदले विन्ड्‌रश प्रकरणले आफूलाई व्यक्तिगत रूपमा दु:खी भएको सन्डे टेलिग्राफसँग बताएका थिए।

विन्डरश समुदाय दक्षिण एसियाबाट नभई क्यारिबियन क्षेत्रबाट आएका भए पनि उनीहरू तथा जावेदको परिवारबीच धेरै समानता छन्।

विन्ड्‌रश विवाद

सन् १९७३ मा कानुनी माध्यमबाट ब्रिटेन आएर बसेका मानिसलाई 'अवैधानिक आप्रवासी' को मान्यता दिइँदै आएको छ।

तस्वीर कपीराइट Getty Images
Image caption क्यारिबिएन क्षेत्रबाट आएका आप्रवासीहरूलाई ब्रिटेन सरकारले गरेको व्यवहारको आलोचना हुँदै गर्दा गत साता एम्बर रडले गृहमन्त्रीको पदबाट राजीनमा दिएकी थिइन्

तिनमध्ये पहिला ब्रिटिश राहदानीका लागि आवेदन नदिएका वा सन् १९७३ देखि नै ब्रिटेन आएर बसोबास गरेको कागजी प्रमाण नभएकाहरू पनि छन्।

अल्पसङ्ख्यक समुदायबाट पहिलो पटक गृहमन्त्री बनेका जावेदले आफ्ना पिता, काका वा आफूले पनि त्यस्तो खेप्न पर्ने हुनसक्थ्यो भन्दै आफू यसबाट धेरै प्रभावित भएको सन्डे टेलिग्राफलाई बताएका थिए।