फोक्सवागन विवाद: पूर्वप्रमुख कार्यकारीविरुद्ध अभियोग

  • 4 मे 2018
फोक्सावगन तस्वीर कपीराइट Getty Images

अमेरिकी अभियोजनकर्ताहरूले कार निर्माता कम्पनी फोक्स‌वागनका पूर्वप्रमुख कार्यकारी मार्टिन विन्टरकोर्नमाथि सवारी प्रदूषण नियामक निकायलाई झुक्याएको अभियोग लगाएका छन्।

उक्त कम्पनीले अमेरिकाको प्रदूषण परीक्षण आफ्ना सवारी साधनहरूले पास गरून् भनेर डिजेलबाट चल्ने कारहरूमा सफ्ट्वेयर जडान गरेको जानकारी सतहमा आएपछि उनले सन् २०१५ मा राजीनामा दिएका थिए।

विन्टर्‌कोर्नले त्यसबेला भएका गल्तीको आफूलाई जानकारी नभएको बताएका छन्।

डिट्रोइट जिल्ला अदालतका एक जना प्रवक्ताले दोषी पाइए विन्टरकोर्नलाई २५ वर्षसम्म कारावास हुनसक्ने बताए।

अभियोग

मार्चमा लगाइएका ती अभियोग बिहीवार सार्वजनिक भएका थिए।

फोक्स‌वागनले अमेरिकी जाँचलाई सघाउन आफू तयार रहेको भन्दै थप प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

तस्वीर कपीराइट Getty Images

न्यूयोर्कस्थित बीबीसी संवाददाता जो मिलर भन्छन्, जरिवानाबापत ३० अर्ब डलर खर्च गरिसकेको र कारहरू फिर्ता लिइसकेको अनि कैयौँ मध्यम तहका कर्मचारीलाई कारबाही गरिएकाले त्यसबेला सबैभन्दा उच्च तहमा रहेका अधिकारीलाई कठघरामा नउभ्याइने ठानिएको थियो।

लाखौँ सवारी साधानहरूमा ठगी गर्ने उपकरणहरू जडान गरिएको अवधिका विश्वको सबैभन्दा ठूलो कार निर्माता कम्पनीका प्रमुख कार्यकारी विन्टरकोर्नले थाहा हुने बित्तिकै उक्त अवैधानिक गतिविधिबारे अधिकारीहरूलाई जानकारी गराएको बताउने गरेका छन्।

तर देशबाहिर रहेका एक जना वरिष्ठ उद्यमीविरुद्ध अभूतपूर्व जस्तो देखिने गरी मिशिगनको एउटा सङ्घीय जुरीले अभियोग दायर गरेको हो।

उन्मुक्ति

उनलाई नियामक निकाय र सर्वसाधारणलाई फोक्सवागनका गाडीहरूको प्रदूषणको तहबारे झूटो विवरण दिएको अभियोग लगाइएको छ।

उनले स्टुट्गार्टमा अहिले नै मुद्दाहरू खेपिरहेका छन्।

फोक्सवागनका लगानीकर्ताहरूले विन्टरकोर्नले उक्त प्रकरणबारेका सूचना एक वर्षसम्म लुकाएर कम्पनीको अर्बौँ डलर बराबरको बजार मूल्यमा क्षति पुर्‍याएको आरोप लगाएका छन्।

तर अमेरिकी निकायहरूले दोषी ठहर गरेपनि उनले अमेरिकी अदालतमा उपस्थित हुनुपर्ने वा जेल जानुपर्ने सम्भावना नरहेको बताइन्छ।

किनभने जर्मनीले आफ्ना नागरिकहरू अन्य देशलाई सुपुर्दगी नगर्ने नीति लिएको छ।