विस्तारित चक्रपथमा 'यात्रु र चालकको सुरक्षाबारे चिन्ता'

  • 4 मे 2018
चक्रपथ विस्तार

काठमाण्डू उपत्यकामा चक्रपथ विस्तारको काम सकिनै लाग्दा सडक सुरक्षाविद्हरूले उक्त सडकखण्ड यात्रु र चालकको लागि असुरक्षित रहेको भन्दै पुन: चिन्ता व्यक्त गरेका छन्।

आठ वर्षअघि स्वीकृत भएको उक्त सडकको नापनक्सा सुधार गर्ने विगतको सरकारी प्रतिबद्धता कार्यान्वन गर्न कठिन रहेको अधिकारीहरूको भनाइ छ।

चक्रपथको लगभग १० किलोमिटर खण्ड सुधारको काम अहिले ९० प्रतिशतभन्दा बढी सकिएको र बाँकी काम श्रावण महिनाभित्रै सकिने आयोजना प्रमुखले बताएका छन्।

पोहर नेपालमा सडक दुर्घटनामा २३ सयभन्दा बढीको ज्यान गएको प्रहरीको भनाइ छ। राजधानीका सडकमा धेरै दुर्घटनाहरू हुने गर्दछन्।

उक्त सडकको नापनक्सा ठूला र तीव्र गतिमा चल्ने साधनका लागि मात्र उपयुक्त रहेको बताइएको छ।

'त्रुटि'

तर सडक सुरक्षाको हिसाबले उक्त सडक पैदलयात्री र दुई पाङ्ग्रे सवारीमैत्री नरहेको सडक सुरक्षाविद्ले जनाएका छन्।

सडक यातायात सुरक्षाविद् आशिष गजुरेलले भने, ''यो डिजाइनमा नै त्रुटि भयो र यसै कारण सडक धेरै असुरक्षित हुन गएको छ। धेरै दुर्घटना हुने सम्भावना एकदमै बढी भयो। यो सडकखण्ड ठूला सवारीसाधन तीव्र गतिमा चलाउनका लागि बनाइएको जस्तो भयो।''

चीन सरकारको साढे चार अर्ब रुपैयाँ अनुदान सहयोगमा निर्माणाधीन आठ लेनको चक्रपथ सडकखण्ड निर्धारित समयमै सकिने चक्रपथ सुधार आयोजनाले जनाएको छ।

चीनको साङ्घाई कन्स्ट्रक्शन समूहले गत २०७१ सालबाट सुरु गरेको काम पटकपटक म्याद थप गर्दै निर्माण भइरहँदा उक्त सडकखण्डको नापनक्साका बारेमा विज्ञले यसअघि पनि प्रश्न उठाएका थिए।

अधिकारीहरूले सुधार गर्ने आश्वासन दिंदै आएका थिए।

सडकको बीचमा चार लेनमा 'डिभाइडर' नभएकोले अत्यन्त जोखिम हुने विज्ञहरूको चिन्ता छ।

तर सडक विभागका वैदेशिक सहायता समन्वय गर्ने अधिकारी सञ्जयकुमार श्रेष्ठले 'लेन' अनुशासन कडाइका साथ पालना गरिए जोखिम नहुने बताए।

उनले भने, ''डिजाइन जस्तो किसिमको गरिएको छ त्यहीअनुसार स्तरोन्नतिको काम गरिएको छ। बीचमा दुईवटा सेतो धर्का लगातार राखिन्छ। सहरी क्षेत्रका सडकमा त्यस्तो गर्ने चलन छ। त्यो धर्का नाघेर जान पाइँदैन, त्यसले नै लेन छुट्टयाइदिन्छ। तर हाम्रो देशमा मान्छेहरूले वा सडक प्रयोगकर्ताले त्यो बुझ्दैनन्।''

योजना

आयोजना प्रमुख प्रकाश भण्डारीले सरकारले स्वीकृत गरेको नापनक्सामै निर्माण कार्य भएको बताए।

उनका अनुसार खसी बजार, बल्खु खोला, बाग्मती खोला र मनोहरा खोलामा सडकको दुवैतर्फ गरी आठ वटा पुल र १० मध्ये तीनवटा आकाशेपुल निर्माण भइसकेका छन् भने कलङ्कीको 'अन्डरपास' लगायत बाँकी आकाशेपुल निर्माण कार्य पनि निर्धारित समयमै सकिने छन्।

कलङ्की, खसीबजारनजिकै केही मिटर खाल्डो पुर्ने कार्य भने श्रावण महिनामा गरिने भएको छ।

झन्डै १० किलोमिटरमध्ये साढे एक किलोमिटर सडक मात्र कालोपत्रे गर्न बाँकी रहेको र बालुवा अभावमा केही कार्य प्रभावित भएको समेत आयोजनाको गुनासो छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
गोपालप्रसाद सिग्देल र पदमबहादुर शाहीसँग

सम्बन्धित सामग्री

सम्बन्धित समाचार