कम्बोडिया: अन्तिम स्वतन्त्र अंग्रेजी दैनिक बिक्री

  • 7 मे 2018
कम्बोडिया तस्वीर कपीराइट Getty Images

कम्बोडियाको अन्तिम स्वतन्त्र अंग्रेजी दैनिकका रूपमा लिइने गरिएको एउटा अखबार एकजना मलेसियाली व्यवसायीलाई बिक्री गरिएपछि त्यहाँ प्रेस स्वतन्त्रतालाई लिएर चिन्ताहरू प्रकट भएका छन्।

नोम पेन पोस्टका नयाँ मालिक शिवकुमार गणपति हुन्। उनी निर्देशक रहेको जनसम्पर्कसम्बन्धी फर्मले कुनै बेला कम्बोडियाको सरकारसँग मिलेर काम गरेको थियो।

गणपतिले उक्त दैनिकको विरासत र सम्पादकीय स्वतन्त्रता कायम राख्ने प्रतिबद्धता जनाएका छन्।

तर अखबारको बिक्रीको खबर आगामी जुलाईमा हुने आमचुनावअघि स्वतन्त्र सञ्चारमाध्यमहरूमाथि धरपकड भइरहेका विवरणमाझ आएको छ।

बन्द

अघिल्लो वर्ष सरकारलाई ६३ करोड डलर बारबरको कर रकम तिर्न नसकेपछि अर्को स्वतन्त्र पत्रिका द कम्बोडिया डेली बन्द भएको थियो।

अरू सञ्चारमाध्यमलाई पनि करसम्बन्धी कानुनी प्रावधानको पालना नगरेको आरोप लगाइएको छ।

अमेरिकी सरकारको लगानी रहेको रेडियो फ्री एसियाको हालै नोम पेनस्थित कार्यालय बन्द गरिएको थियो।

प्रधानमन्त्री हुन सेनद्वारा स्वतन्त्र सञ्चारमाध्यममा 'निर्मम दमन' भएको भन्दै उक्त निर्णय लिइएको थियो।

तस्वीर कपीराइट AFP

नोम पेन पोस्टका पूर्वमालिक अष्ट्रेलियाका बिल क्लफले शनिवार अखबार विक्रीको निर्णय पुष्टि गर्दै विज्ञापन कम आएकाले त्यसो गर्नुपरेको जनाएका छन्।

उनले पत्रिकाका नयाँ खरिदकर्ता शिवकुमार गणपति सञ्चार क्षेत्रका एक सम्मानित व्यक्ति भएको पनि उल्लेख गरेका छन्।

चिन्ता

विगतमा अधिकारीहरूले उक्त अखबारले तिर्नुपर्ने भनिएको ३९ लाख डलर राजश्व तिर्न भनेका थिए।

तर क्लफले सहमति अनुसार त्यसलाई पनि टुङ्गो लगाइएको बताएका छन्।

यो बिक्रीले चुनावको मुखमा प्रेस स्वतन्त्रतालाई लिएर कम्बोडियाको पत्रकार जगत्‌माझ चिन्ता जन्माएको छ।

समस्या भोगेका सञ्चारमाध्यमहरूले ३३ वर्षदेखि सत्तामा रहेका प्रधानमन्त्री हुन सेनको सरकारलाई अप्ठ्यारोमा पार्ने गरी प्राय:जसो भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनका बारेमा खबरहरू प्रकाशन गर्ने गरेका थिए।

निर्णय

नोम पेन पोस्टका पूर्वप्रधानसम्पादक चाड विलियम्सले सरकारले उक्त अखबारको विक्रीका लागि अनुमति दिएको स्पष्ट भएको बताए।

उनले कर शुल्क र विक्रीको निर्णयको समय एकपछि अर्को गर्दै आएको र त्यो एकआपसमा सम्बन्धित भएको भन्दै सरकारले धम्काएर अखबार विक्री गराएको हुन सक्ने बताए।

अधिकारवादी संस्था ह्युमन राइट्स वाचका एसिया उपनिर्देशक फिल रोबर्टसनले मलेसियाली जनसम्पर्क फर्मले उक्त खरिद गर्नुको उद्देश्य आफ्ना 'कम्बोडियाली साथीहरूलाई मद्दत गर्नु' बाहेक अरू हुन सक्ने भरपर्दो आधार नदेखिएको जनाएका छन्।

तर कम्बोडियाको आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीले रोयटर्स समाचार संस्थालाई उक्त निर्णय एउटा 'साधारण व्यवसायिक कदम' भएको र नोम पेन पोष्ट अखबारकै रूपमा रहिरहेको बताएका छन्।