भारत: अर्की किशोरीलाई पनि बलात्कारपछि जिउँदै जलाइयो

  • 7 मे 2018
आरोपी तस्वीर कपीराइट AFP
Image caption बिहेको प्रस्ताव अस्वीकार गरेपछि आरोपितले आक्रमण गरेको प्रहरीले बताएको छ।

भारतको पूर्वी राज्य झारखण्डमा एकजना १७ वर्षीया किशोरीको बलात्कारपछि उनको शरीरमाथि आगो लगाइएको त्यहाँको प्रहरीले बताएको छ।

उनको अवस्था गम्भीर रहेको छ।

उक्त घटनाको सम्बन्धमा एकजना स्थानीय पुरुषलाई हिरासतमा लिइएको छ।

दोस्रो घटना

हालैका दिनमा झारखण्डमा भएको त्यो दोस्रो घटना हो। बलात्कारपछि जिउँदै जलाईएकी एक अर्की किशोरीको आइतवार निधन भएको प्रहरीले बताएको छ।

ती दुईवटा घटनाहरू एकआपसमा सम्बन्धित छन् कि छैनन् त्यसबारे प्रहरीले केही खुलाएको छैन।

भारतमा शृङ्खलाबद्ध हिंसात्मक यौन अपराधहरू भइरहँदा ती घटना भएका छन्।

उपचार

पछिल्लो घटनामा पीडित किशोरीको अस्पतालमा उपचार भइरहेको छ।

उनको शरीर ९५ प्रतिशत जलेको छ र उनको उपचार भइरहेको प्रहरीले बीबीसी हिन्दीलाई बताएको छ।

प्रहरी अधिकारी शैलेन्द्र बर्नवालले भने, "ती किशोरीलाई आफूले बिहे गर्न चाहेको तर उनी राजी नभएको आरोपितले हामीलाई बताएका छन्।"

गत शुक्रवार पाकुर जिल्लास्थित एउटा गाउँमा आफ्ना आफन्तको घरमा रहेका बेला उनीमाथि ती पुरुषले आक्रमण गरेको प्रहरीले जनाएको छ।

ती आरोपित त्यहाँ नजिकै बस्दछन्।

प्रहरीका अनुसार ती पुरुषले उनी घरमा एक्लै नभएसम्म कुरेका थिए र त्यसपछि घरभित्र पसेर उनको शरीरमा आगो लगाउनुअघि उनलाई बलात्कार गरेका थिए।

तस्वीर कपीराइट Getty Images

उनी चिच्याएको सुनेपछि छिमेकीहरू सो घरमा पुगेका थिए र उनलाई अस्पताल लगेका थिए।

पक्राउ

बलात्कार र आगो लगाई जिउँदै मारिएको अघिल्लो घटनाको सम्बन्धमा मुख्य सन्दिग्धसहित १४ जना अन्य पुरुषहरूलाई पक्राउ परिसकेका छन्।

हालै एकजना आठ वर्षीया बालिकाको बलात्कारपछि गरिएको हत्यासहित अन्य दुई फरक बलात्कारका घटना बारे भारतभरि आक्रोश व्यक्त गरिएको छ।

त्यसपछि भएका व्यापक विरोधप्रदर्शनहरूको परिणामस्वरूप भारत सरकारले १२ वर्षमुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिने व्यवस्था ल्यायो।

भारतमा कैयौँ गम्भीर प्रकृतिका अपराधहरूमा मृत्युदण्डको सजाय दिइन्छ। तर बालिका बलात्कार गर्नेलाई अहिलेसम्म त्यस्तो सजायको व्यवस्था गरिएको थिएन।

सन् २०१६ मा झन्डै ४० हजार बलात्कारका घटनाहरूबारे उजुरी परेको थियो।

तर बलात्कार तथा यौन हिंसालाई सामाजिक कलङ्कका रूपमा हेरिने कारणले कैयौँ घटनाहरूको उजुरी नै नपर्ने ठानिन्छ।

सम्बन्धित सामग्री