कृषि बीमाबारे धेरै कृषकलाई जानकारी छैन

  • 9 मे 2018
केरा

कृषि मन्त्रालयका अनुसार सरकारले चार वर्षअघि सुरु गरेको कृषि बीमाको योजनामा हालसम्म आठ हजार जति किसान मात्रै आबद्ध भएका छन्।

केही समयअघि देशभरि पानी र असिना पर्‍यो।

जसले देशभर करोडौँ रुपैयाँ बराबरको क्षति पुगेको कृषि मन्त्रालयका वरिष्ठ कृषिअर्थविज्ञ तथा सूचना अधिकारी मणिरत्न अर्यालले बताए।

कृषि बीमा कार्यक्रमअन्तर्गत यस वर्ष करिब सात करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएको अधिकारीहरू बताउँछन्।

विवरण

उनले भने, "चैत र वैशाखमा परेको असिनाले करिब २१ करोड रूपैयाँ बराबरको बालीनालीमा क्षति पुगेको देखिएको छ। पछिल्लो साता परेको असिनाले पुर्‍याएको क्षतिको विवरण अझै सङ्कलन हुँदैछ।"

तरकारी र फलफूल खेतीमा बढी नोक्सान परेको अर्यालले बताए।

बालीमा कीरा लाग्नेदेखि असिनाका कारण खेती नष्ट भएकासम्म जोखिम न्यूनीकरण गर्न किसानले बीमा गर्नुपर्ने मन्त्रालयको भनाइ छ।

तर अझै पनि धेरै किसानले आफ्ना बाली र पशुको बीमा कसरी गर्ने भन्ने जानकारी पाउन नसकेकोले नगरेको बताएका छन्।

चितवन भण्डाराका तरकारी खेती गरिरहेका कृषक नवीन तिवारीले भने, "यहाँ तरकारी खेती गर्ने कुनै पनि किसानले बीमा गरेका छैनन्। बीमा कहाँ गएर गर्ने र यसका लागि के के चाहिन्छ नै हामीलाई थाहा छैन, त्यसैले नगरेको हो।"

अनिवार्य

सुरुमा बीमाको प्रिमियमको ५० प्रतिशत सरकारले तिरे पनि पछिल्लो समय यसलाई बढाएर ७५ प्रतिशत पुर्‍याएको छ।

यसरी बीमामा कृषकलाई दिने सहुलियतका लागि यो आर्थिक वर्षमा करिब सात करोड रुपैयाँ खर्च हुने देखिएको सरकारले जनाएको छ।

करिब आधा दशकअघि सरकारले ल्याएको बीमा गर्न थालेकामध्ये धेरैजसो व्यावसायिक किसान नै रहेको अर्यालले बताए।

उनले भने, "हामीले दिने अनुदान लिने किसानलाई अनिवार्य बीमा गराउँछौँ। व्यावसायिक ठूला किसान करिब पाँच हजार र साना करिब तीन हजार किसान बीमामा आबद्ध भइसक्नुभएको देखिएको छ।"

नगदेबाली र तरकारीभन्दा पनि पशु बीमामा कृषकहरू बढी आकर्षित भएको अधिकारीहरूले बताएका छन्।

कुल गार्हस्थ उत्पादनमा करिब ३० प्रतिशत योगदान पुर्‍याउने कृषि क्षेत्रमा आबद्ध किसानलाई सघाउ पुर्‍याउने उद्देश्यका साथ ल्याइएको बीमा नीति प्रभावकारी बनाउन नसकेको भन्दै सरकारको आलोचना हुने गरेको छ।

सम्बन्धित सामग्री