'ब्याङ्किङ अपराध गर्न प्रविधिको दुरुपयोग'

  • 10 मे 2018
एटीएम

प्रविधिको दुरुपयोग र सञ्चालनसम्बन्धी कमजोरीका कारण ब्याङ्कसम्बन्धी अपराध बढ्न थालेको नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूले बताएका छन्।

त्यस्ता अपराधमध्ये करिब ३५ प्रतिशत एटीएम कार्डसँग सम्बन्धित हुने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ।

ब्याङ्क तथा वित्तीय संस्थाहरू भने यस्ता अपराध नियन्त्रण गर्न प्रभावकारी कानुन आवश्यक भएको बताउँछन्।

गएको तीन वर्षमा करिब ३० वटा भन्दा बढी ब्याङ्कसम्बन्धी अपराधको अनुसन्धान गरिएको सीआईबीले जनाएको छ।

अपराध

सीआईबीका अनुसार त्यसमध्ये १० वटाभन्दा बढी एटीएमसँग सम्बन्धित अपराध छन्।

राष्ट्र ब्याङ्कले पनि पछिल्लो समय भएका अपराध प्रविधि र सञ्चालनको कमजोरीसँग जोडिएको बताएको छ।

राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले भने, "एटीएमा कुनै चिप्स राखेर होस् या अन्य कुनै तरिकाबाट कार्डमा भएका विवरण चुहिने र यसको आधारमा गलत व्यक्तिले एटीएमबाट पैसा झिक्ने प्रवृत्ति बढेको छ। कर्मचारी नै संलग्न भएर झुटो खाता खोल्ने, प्रयोगकर्ताको आईडी ह्याक गरेर र कतिपय अवस्थामा पासवर्ड अरूसँग बाँडेका कारण ब्याङ्कको स्विफ्ट कोड नै ह्याक भएको भेटिएको छ।"

कमसल धितोमा पनि ठूलो आकारको ऋण दिने र नक्कली व्यक्तिको नाममा कर्जा प्रवाह गर्नेजस्ता पुराना समस्या पनि अझै विद्यमान रहेको केन्द्रीय ब्याङ्कले जनाएको छ।

ब्याङ्क तथा वित्तीय संस्थाहरू प्रविधिको विकाससँगै अपराध बढेको स्वीकार्छन्।

तर तिनलाई सम्बोधन गर्न हाल रहेका नियम कानुनलाई परिमार्जन गर्न पर्ने देखिएको उनीहरू बताउँछन्।

ब्याङ्कर्स सङ्घका पूर्वअध्यक्ष अनिल शाहले भने, "स्विफ्ट कोड ह्याक गर्ने वा इन्टर्नेट ब्याङ्किङ्मार्फत् भएका अपराधलाई नियन्त्रण गर्ने कडा कानुन चाहिन्छ र यसलाई कार्यान्वयन गर्ने क्षमता पनि हामीमा हुनु पर्‍यो।"

सूचना चुहावट

ब्यङ्किङ् कसुर तथा सजाय ऐन, ब्याङ्क तथा वित्तीय संस्था ऐन जस्ता प्रचलित कानुनभित्र रहेर कारोबार गरेको खण्डमा यस्ता अपराध धेरै हदसम्म कम हुनसक्ने राष्ट्र ब्याङ्कको भनाइ छ।

ब्याङ्कहरूले उनीहरूको जनशक्ति बढाउन र प्रयोग भएका सफ्टवयेरको सुरक्षामा विशेष ध्यान दिन चुकेकाले नै पछिल्लो समय यस्ता अपराध बढेको निरौलाले बताए।

उनले भने, "प्रविधि चुस्त हुनु पर्यो र ब्याङ्कहरूले प्रयोग गरेका प्रविधि अन्तर्राष्ट्रिय स्तरको हुनुपर्‍यो। साथै यसलाई मर्मत गर्ने तोस्रो पक्ष पनि विश्वसनीय हुनुपर्ने नत्र यो तेस्रो पक्षबाट ग्राहकहरूको महत्त्वपूर्ण सूचना चुहावट हुन सक्ने सम्भावना धेरै रहन्छ। ब्याङ्कहरूले उनीहरूको मानव संसाधनमा पनि खर्च गर्न पर्‍यो।"

प्रविधिको प्रयोग अझ व्यापक हुँदै जाँदा यस्ता अपराध अझै बढ्न सक्ने अनुमान विज्ञहरूले गरेका छन्।

केही महिनाअघि एक एउटा ब्याङ्कको स्विफ्ट कोड ह्याक गरेर करोडौं रुपैयाँ विदेश पुगेको विवरण पनि आएको थियो।

एटीएमसम्बन्धी अपराधका अधिकांश घटनामा विदेशी नागरिकहरू संलग्न सीआईबीको अनुसन्धानले देखाएको छ।

सीआईबीका अनुसार गत पाँच वर्षमा एटीएम अपचलनका कारण करिब १६ करोड रुपैयाँ बराबरको नोक्सान भएको छ।

सम्बन्धित सामग्री