मोदीका पाँच सम्भावित मनसुबा

  • 10 मे 2018
मोदी तस्वीर कपीराइट AFP

करिब चार वर्षपछि तेस्रो पटक शुक्रवार नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यात्रामा पाँचवटा सन्देश लुकेको आकलन गरिएको छ।

नेपाल यात्राको थालनी जनकपुरबाटै गर्नुको पछाडि केवल धार्मिक, सांस्कृतिक सम्बन्धलाई मुखरित गर्नु मात्र रहेको छैन।

मोदी सिधै जनकपुर आउने भएपछि संघीय सरकारको ध्यान पनि जनकपुरतिर मोडिएको छ।

यसपटक मोदी भ्रमणमा आउँदा नेपालमा नयाँ संविधान लागू भई सोही अनुसार तीनै तहका चुनाव सम्पन्न भइसकेको छ र प्रादेशिक संरचना खडा भएका छन्।

सिलसिला

भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भए लगत्तै १८ साउन २०७१ मा नेपाल भ्रमणमा आएका थिए।

त्यसअघिका १७ वर्षसम्म नेपालमा भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमण हुन सकेको थिएन।

पहिलो भ्रमणको चार महिनामै १८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन १० मंसिर २०७१ मै दोस्रो पटक काठमाडौं आएका थिए।

मोदीको तेस्रो नेपाल भ्रमण शुक्रवारबाट सुरु हुँदैछ।

यस अवधिमा नेपालका तर्फबाट चार पटक प्रधानमन्त्री तहमा भारतको भ्रमण भइसकेको छ।

तस्वीर कपीराइट EPA

नेपालमा संविधान निर्माणको क्रममा चिसिएको नेपाल-भारत सम्बन्ध सामान्य स्थितिमा फर्किएको सन्देश दिने उद्देश्यसहित मात्र भारतीय प्रधानमन्त्रीको भ्रमण भइरहेको छैन।

पाँच "प"

यस यात्रामा पारस्परिक भ्रमण, प्रान्तीयताप्रति नजर, पर्यटन प्रवर्द्धन, पानीमा पहुँच र प्रवुद्ध समितिको समीक्षा गरी पाँच "प" लाई विशेष प्राथमिकता दिएको बुझिन्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको दुई महिना नपुग्दै हुन लागेको मोदीको यो भ्रमणलाई जवाफी भ्रमणका रुपमा पनि हेरिएको छ।

पूरा नभएका मोदीका पाँच वाचा

'मोदी पटनाबाट सोझै जनकपुर आउने'

सीमावर्ती भारतीय राज्य बिहारको राजधानी पटनाबाट भारतीय वायु सेनाको हेलिकप्टरमार्फत जनकपुर उत्रिने मोदीले प्रान्तीय सरकारको अभ्यासलाई समर्थन गरेको अर्थमा समेत कतिपयले लिएका छन्।

जनकपुर अहिले प्रदेश २ को अस्थायी राजधानी हो।

यहाँका मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीको नेतृत्वमा उनको नागरिक अभिनन्दन गर्ने तयारी भइरहेको छ।

अहिलेसम्म नेपाल-भारत सम्बन्धमा काठमाण्डू र दिल्लीले ठाउँ पाइराखेकोमा अब उप्रान्त भारतीय सीमासँग जोडिएका प्रदेशहरूका सरोकारहरूले पनि ठाउँ पाउने अर्थमा यसलाई लिइएको छ।

उनी सोझै दिल्लीबाट जनकपुर नआएर पटनाबाट आउनुलाई पछिल्ला समयमा दिल्ली संस्थापनले भारतका छिमेकी देशहरूको सम्बन्धमा आफ्ना सीमावर्ती राज्यहरूलाई महत्त्व दिने क्रम बढाउँदै गएको प्रस्टिन्छ।

पर्यटन

जनकपुर र मुक्तिनाथको भ्रमणले धार्मिक पर्यटन बढाउने अपेक्षा गरिएको छ।

त्यही क्रममा जनकपुर र अयोध्या जोड्ने "रामायण सर्किट" घोषणा हुने र बस सेवा सञ्चालन हुने भएको छ।

नेपाल-भारतबीचको सम्बन्धमा विगतमा अयोध्याले त्यति ठाउँ पाउँदैनथ्यो।

यसपटक हिन्दुत्ववादी धारका सत्तारुढ दल भारतीय जनता पार्टीले नेपाल नीतिको प्रस्तावना प्रतीकको रुपमा "अयोध्या-जनकपुर" सम्बन्धलाई अगाडि सारेको छ ।

नेपालको पानीको उपयोगितामाथि भारतीय संस्थापनको पुरानै दृष्टि छ।

यसपटकको यात्रामा नयाँ समझदारी र अरुण तेस्रो परियोजनाको शिलान्यासको लक्ष्य राख्नुको पछाडि नेपालसँगको पानी साइनो बढाउने एकथरीको अनुमान छ।

नेपाल-भारतबीच सन्धि पुनरावलोकन गरेर प्रतिवेदन दिन गठन गरिएको नेपाल-भारत प्रबुद्ध समूहको म्याद आउँदो असारमा सकिँदैछ।

यस भ्रमणको बेला समूहको काम कारबाहीको समीक्षा र तिनले लिने बाटोबारे पनि कुरा हुने अपेक्षा गरिएको छ।

भारतभित्रका असर

भारतीय राजनीतिमा पनि आउँदो वर्ष त्यहाँ आम चुनाव हुँदैछ।

नेपालको समृद्धि-यात्रामा भारतको साथ: मोदी

टेलिफोन शुल्क घटाउने घोषणा कागजमै सीमित

अयोध्या र जनकपुरको सन्दर्भमार्फत खासगरी मोदीले उत्तर भारतको हिन्दु मतदाता रिझाउने प्रयत्न गरेको बुझिएको छ।

अयोध्यामा राम मन्दिर निर्माणमा ढिलो भए पनि रामायण सर्किटको कार्यान्वयनले भाजपालाई सहज हुन सक्छ ।

भारतभित्र प्रधानमन्त्रीका रुपमा मोदी कार्यकालको आलोचना गर्नेहरूले उनको असफल छिमेक नीतिलाई आक्षेप लगाउँदै आएका थिए।

यसै क्रममा मोदीले अन्य छिमेकी देशहरूसँग सम्बन्ध सुधारकै क्रममा नेपालमा तीर्थाटन कूटनीतिलाई अगाडि सारेका जस्तो देखिन्छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
मोदीको नेपाल भ्रमणबारे के भन्छन् सर्वसाधारण?

नेपालको तीनवटै भौगोलिक क्षेत्र तराई, पहाड र हिमालको यात्रा गरी उनले आफ्नो आन्तरिक राजनीतिमा नेपालका सबै क्षेत्रको जनतामा आफूप्रति सम्मान र आत्मीयता रहेको प्रदर्शित गर्न चाहेको कतिपय विश्लेषकको बुझाइ छ।

मोदीले नेतृत्व गरेको भारतीय जनता पार्टीले आफ्ना नीतिहरूमा प्राचीन "मिथक"हरुलाई उपयोग गर्ने गरेका छन्।

नेपाल-भारत जनस्तर सम्बन्धलाई परिभाषित गर्न कतिपयले "रोटी-बेटी" को सम्बन्ध भन्ने गरेका छन्।

जनकपुर-अयोध्या प्रतीकमार्फत रामायणकालीन सीता-राम सम्बन्धमार्फत जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउने र सांस्कृतिक रुपमा पकड बनाउने मनसुबा रहेको झल्किन्छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
महन्त वैष्णव

सम्बन्धित सामग्री