मोदीको नेपाल भ्रमण: 'संविधान संशोधनको वातावरण बन्ने आशा'

  • 10 मे 2018
जनकपुर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले आफूहरूको माग अनुरुप संविधान संशोधनको वातावरण बन्ने आशा तराई केन्द्रित दलका कतिपय नेताहरूले व्यक्त गरेका छन्।

भारतीय प्रधानमन्त्री मोदीको यसपटकको नेपाल भ्रमण प्रदेश २ को राजधानी जनकपुरधामबाट सुरु हुँदैछ।

संविधान संशोधनको आफ्ना मागको सुनुवाइ हुने आशा आफूहरूमा रहेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बताए।

केही नेताले भने यसलाई धार्मिक सद्‌भाव भ्रमण मात्र भनेका छन्।

मोदीको भ्रमणपूर्व नाकाबन्दीको चर्चा

तर्क

चुनावपछि तीन तहकै सरकार गठन भएयता भारतले विगतमा जस्तो तराई केन्द्रित दलहरूले उठाएको संविधान संशोधनको विषयमा चासो राखेको पाइँदैन।

तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले उक्त संविधान संशोधनको माग अब पूरा हुनेमा आशावादी हुने ठाउँ रहेको तराई केन्द्रित दलका कतिपय नेताहरूले बताएका छन्।

विगत केही दिनदेखि जनकपुरमा रहेका राजपा अध्यक्ष मण्डलका एकजना सदस्य राजेन्द्र महतोले भने, "यो भ्रमणले दुई देशका सरकारबीच केही न केही होला भन्ने अपेक्षा गरेका छौं। भारतले संविधान संशोधनको विषयमा आफ्नो धारणा पहिला नै राखिसकेको हो। सबै राजनीतिक दललाई यो विषय महसुस भइसकेको पनि छ। अब माग पूरा होला भन्ने विश्वासमा छौं"।

मोदीको स्वागतमा जनकपुर

विगतका धेरै आन्दोलनमा भारत 'साक्षी' रहेको भन्दै प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले तराई केन्द्रित दलहरूको आन्दोलनमा पनि भारत 'साक्षी' बस्नु स्वभाविक भएको बताए।

उनले प्रदेश २ तथा मुलुककै हितका लागि भारतसँग सद्‌भाव बढाउनुपर्ने बताए।

उनले भने, "तराई केन्द्रित दलहरूको आन्दोलनमा भारतले सद्‌भाव राख्यो भनेर उसलाई आरोप लगाउनु मात्र हो। विगतका आन्दोलनमा पनि भारत साक्षी बसेर धेरै सहमति गरेकै हो। यो भ्रमणले देश विकासमा टेवा पुग्छ भन्ने लाग्छ"।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
'भारतीय प्रधानमन्त्री मोदीले दशकौंअघि मुक्तिनाथमा ध्यान/तप गरेका थिए'

फरक मत

कतिपय तराई केन्द्रित दलका नेताहरूले मोदीको जनकपुर यात्रालाई 'धार्मिक सद्‌भाव भ्रमण' भनेका छन्।

तीमध्येका एक हुन् संघीय समाजवादी फोरमको प्रदेश २ का सचिव शेषनारायण यादव।

उनले भने, "जनकपुरको भ्रमण राजनीतिक नभएर धार्मिक सद्‌भाव भ्रमण हो। यसले नेपाल र भारतको सम्बन्ध सुधार हुने अपेक्षा छ"।

भारतीय प्रधानमन्त्री मोदी शुक्रवार बिहान करिब सवा १० बजे जनकपुर अवतरण गर्नेछन्।

त्यसपछि रामजानकी मन्दिरमा पूजा गर्ने र बाह्रविघा क्षेत्रमा हुने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्री राउतले जानकारी दिएका छन्।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
मोदीको आसन्न नेपाल भ्रमणबारे युवराज घिमिरे

सम्बन्धित सामग्री