मोदी भ्रमणसँगै रामायण सर्किटमा जनकपुर

  • 11 मे 2018
मोदी

त्रेता युगमा भगवान् राम र सीतासित सम्बद्ध तीर्थस्थलहरूलाई जोड्ने भारतीय योजना अन्तर्गतको रामायण सर्किटमा जनकपुरधाम समावेश भएको छ।

दुई दिने नेपाल भ्रमणमा शुक्रवार बिहान जनकपुर आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिर परिसरमा तीर्थयात्रा मार्गबारे घोषणा गरेका हुन्।

मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले संयुक्त रूपमा जनकपुरदेखि अयोध्यासम्मको सीधा बस सेवा सञ्चालनमा आएको घोषणा गरेका थिए।

त्रेता युगका भगवान् राम र सीताको चरण परेका भनिएका स्थलहरू भारतको १० राज्यमा छन्।

अब त्यस्ता १५ स्थानहरूलाई जोड्ने रामायण सर्किटमा जनकपुरधाम र धनुषाधाम आवद्ध हुनेछन्।

पर्यटन

रामायण सर्किटले नेपाल र भारतको धार्मिक, सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

रामायण सर्किटले जनकपुर क्षेत्रमा राम र सीता सम्बद्ध स्थलहरूको पर्यटकीय विकास हुने अधिकारीहरू बताउँछन्।

राम र सीताको पहिलो मिलन भएको गिरिजास्थान, विवाह भएको विवाहमण्डप, स्वयंर भएको बाह्रबिघा (रंगभूमि) मैदान, धनुष भाँच्चिएर खसेको धनुषाधाम लगायत रामायणसित जोडिएका स्थलहरूलाई पर्यटकीय विकास गरिने बताइएको छ।

'जनकपुरधाममा हाल तीर्थयात्रीहरू जानकी दर्शनपूजा गर्न आउँछन्,' प्राध्यापक डा.सुरेन्द्र लाभले भने, "रामायण सर्किटमा जोडिएपछि यहाँ थप पर्यटकहरू आउने छन्।"

"तीर्थयात्रीहरू थोरै पैसा खर्च गरेर भुजा, दही चिउरा खाएर फर्किन्छन् तर पर्यटकहरू राम्रा होटेलमा बस्ने र राम्रै रकम खर्च गर्छन्।"

मोदीको अभिनन्दनमा एक लाख मानिस आउलान?

‘भ्रमणले नेपाल-भारत सम्बन्ध अझ बलियो’

रामायण सर्किटले जनकपुर क्षेत्रको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने उनको कथन छ।

रामायणकालीन स्थलहरूलाई जोड्ने क्रममा जनकपुरधामको भारतका १० राज्य र श्रीलंकाको पनि केही स्थानसित प्रत्यक्ष सम्पर्क हुनेछ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
हिन्दु राष्ट्रका पक्षधरलाई मोदी भ्रमणबाट प्रोत्साहन

रामायण सर्किटमा जोडिने स्थलहरूको पर्यटकीय विकासका लागि समेत कार्य हुनेछ।

रामजानकीको विवाह स्थल, धनुषयज्ञ स्थल, तलाउ, सरोबरहरूको संरक्षणमा पनि त्यसले मद्दत पुर्‍याउने ठानिएको छ।

नेपाल र भारतबीचको सम्बन्धलाई रामायण सर्किटले थप सशक्त बनाउने उल्लेख गर्दै लाभले त्यसले संसारभरकै हिन्दुहरूमाझ जनकपुरको महत्त्व बढाउने उल्लेख गरे।

रामायण सर्किटमा जोडिएसँगै जनकपुरमा हवाई, सडक र रेल मार्गबाट पर्यटकको अवागमनमा वृद्धि हुने अधिकारीहरूले अपेक्षा गरेका छन्।

रामायण

हिन्दूहरूको पवित्र ग्रन्थ रामायणमा वर्णन गरिए अनुसार राजा जनककी छोरी सीताको मिथिला राज्यमा जन्म र विवाह भएको हो।

भारतको अयोध्याका राजा रामचन्द्रसँग सीताको विवाह भएको रामायणमा वर्णन गरिएको छ।

रामायण सर्किटले समग्र जनकपुर क्षेत्रको विकासमा उल्लेखनीय योगदान दिने प्राध्यापक डा.भोगेन्द्र झाको विश्वास छ।

जानकी मन्दिरमा दर्शन गर्न अब दिनहुँ ठूलो संख्यामा मानिसहरू आउने उनले बताए।

मोदीको भ्रमणपूर्व नाकाबन्दीको चर्चा

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
भारतीय प्रधानमन्त्रीको भ्रमणका बारे जनकपुरका स्थानीयवासीको धारणा कस्तो छ?

"हिन्दू पर्यटकहरूका लागि एउटा गन्तव्य जनकपुरधाम हुनेछ' उनले भने, "पर्यटकहरूको संख्यामा वृद्धिसँगै यस भेगको आर्थिक गतिविधि ह्वात्तै बढने छ।"

जनकपुरधामलाई रामायण सर्किटले 'पर्यटकीय केन्द्र' बनाउने उनले बताए।

नियमित रुपमा तिर्थ यात्रीहरू आइरहने भए पनि अब ठूलो संख्यामा पर्यटकहरू आउने भएकाले यहाँ स्तरीय होटेल र पर्यटकीय क्षेत्रको विकास हुने झाको कथन छ।

जनकपुरधाम सोझै अयोध्या लगायत भारतका कैयौं राज्यसित जोडिने छ।

पूर्वाधार

"रामायण सर्किटको फाइदा तत्कालै देखिनेछ," प्राध्यापक परमेश्वर कापडीले भने, "भारतको महत्त्वाकांक्षी योजना भए पनि जनकपुरधामको बिना पूर्ण हुने थिएन, रामायणको महत्त्वपूर्ण पात्र सीता र राजा जनक रहेकाले रामायण सर्किटको पूर्णताका लागि जोड्नैपर्थ्यो।'

रामायणको महत्त्वपूर्ण स्थानहरू मध्ये मिथिला र जनकपुरधाम हो ।

रामायणमा मिथिला र जनकपुरधामको वर्णन गरिए जस्तै सीतालाई आदर्श नारीको रूपमा चित्रण गरिएको छ।

भारतमा रामायण सर्किटसित जोडिने १० राज्यका १५ स्थानमा विभिन्न पूर्वाधार निर्माणका कामहरू भइरहेका छन्।

जनकपुरधाममा नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले रामायण सर्किटमा जनकपुर जोडिएको घोषणा गरेपछि थप कार्य प्रारम्भ हुनेछ।

नेपाल र भारतबीचको सबैभन्दा महत्त्वपूर्ण सम्बन्ध 'रोटीबेटी'को मानिन्छ।

त्रेता युगदेखि शुरू भएको भनिने त्यो सम्बन्ध अझै जारी छ।

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
मोदीको आसन्न नेपाल भ्रमणबारे युवराज घिमिरे

सम्बन्धित सामग्री