उत्तर कोरियालाई अमेरिकाले ‘सशर्त’ सघाउने

  • 12 मे 2018
उत्तर तस्वीर कपीराइट Reuters

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आफ्ना पारमाणविक अस्त्रहरू परित्याग गर्न उत्तर कोरिया सहमत भए आफ्नो देशले उसको अर्थतन्त्रको पुनः विकासमा सघाउने बताएका छन्।

उनले भने, हामी हाम्रा दक्षिण कोरियाली साथीहरूसँग मिलेर उत्तर कोरियामा समृद्धि हासिल गर्नका लागि सघाउन तयार रहनेछौँ।

हालै प्योङयाङबाट फर्केका पोम्पेओले उत्तर कोरियाको भ्रमणका क्रममा त्यहाँका नेता किम जङ-अनसँग सुखद कुराकानी भएको बताए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र किमबीच जुन १२ मा सिंगापुरमा शिखर बैठक हुने तय भएको छ।

भविष्य

उत्तर र दक्षिण कोरियाबीच एप्रिलमा भएका महत्त्वपूर्ण वार्ताहरूपछि ट्रम्प र किमले शिखर बैठकबारे घोषणा गरेका थिए।

यसअघि दुई नेताहरू एकअर्कामाथि आरोप-प्रत्यारोपमा व्यस्त हुने गर्दथे।

के हो उत्तर कोरियाली संकट?

'उत्तर कोरियाद्वारा तीनजना अमेरिकी बन्दी रिहा'

वाशिङटनमा दक्षिण कोरियाली समकक्षीसँगको भेटवार्तापछि पोम्पेओले भने, "यदि किम सही बाटो रोज्छन् भने उत्तर कोरियाली जनताका लागि शान्ति र समृद्धिले भरिएको भविष्य हुनेछ।"

तस्वीर कपीराइट EPA

पोम्पेओले छिट्टै निश्शस्त्रीकरणका लागि सशक्त कदम चाल्न प्योङयाङलाई आग्रह समेत गरे।

खाँचो

तर उनले अमेरिका र अन्य मुलुकले भरपर्दो प्रमाणीकरण गर्नुपर्ने कार्यक्रमको खाँचो पर्ने उल्लेख गरे।

पोम्पेओले अचानक भ्रमण गरेको बेला उत्तर कोरियाले तीनजना अमेरिकी बन्दीहरूलाई रिहा गरेको थियो।

उत्तर र दक्षिण कोरियाबीच हालै सम्पन्न शिखर बैठकमा कोरियाली प्रायद्वीपलाई पारमाणविक अस्त्रबाट मुक्त पार्न मिलेर काम गर्ने सहमति भएको थियो।

दुई कोरियाली नेताहरूले सन् १९५३ मा युद्धविराममा टुङ्गिएको कोरियाली युद्धको औपचारिक अन्त्यका लागि मिलेर काम गर्ने पनि सहमति गरेका थिए।