मलेशियाका पूर्वप्रधानमन्त्री रजाकलाई देश छोड्न प्रतिबन्ध

  • 12 मे 2018
मलेशिया तस्वीर कपीराइट AFP

मलेशियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई देश छोड्न प्रतिबन्ध लगाइएको त्यहाँका अध्यागमन अधिकारीहरूले बताएका छन्।

शनिवार पूर्वप्रधानमन्त्री रजाकले आफूले श्रीमती लिएर देशबाहिर बिदामा जाने योजना गरेको बताएपछि उनीमाथि प्रतिबन्ध लगाइएको खबर आएको छ।

यो साताको सुरुमा रजाकको लामो समयदेखि शासन गरिरहेको बारिसन नाशिओनल गठबन्धनले चुनावी विफलताको धक्का बेहोरेको थियो।

देशको लगानी कोषबाट ७ करोड डलर देशबाट बाहिर पठाएको अभियोग रजाकलाई सन् २०१५ मा लागेको थियो।

मलेशियामा विपक्षीको ऐतिहासिक जित

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
मलेशियामा ९२ वर्षीय प्रधानमन्त्री

अनुसन्धान

बिहीबार ९२ वर्षीया महाथिर मोहमदले मलेशियाका नयाँ प्रधानमन्त्रीका रुपमा शपथ लिएका छन् जो विश्वकै पाका निर्वाचित नेता हुन्।

उनले देशको लगानी कोषसहित नजिबमाथि लागेका भ्रष्टाचारका अभियोगमा अनुसन्धान हुने बताएका छन्।

नजिबले भने आफूले देशको कोषबाट त्यस्तो कुनै हिनामिना नगरेको बताउँदै आएका छन्।

नजिबले अध्यागमनका अधिकारीहरूले आफूलाई देश छोड्न नपाउने जानकारी गराएको भन्दै ट्वीट गरेका छन्।

तस्वीर कपीराइट Reuters

राजीनामा

उनले बारिसन नाशिओनल गठबन्धन र आफ्नै युनाइटेड मले नेशनल अर्गनाइजेशन पार्टीको अध्यक्ष पदबाट पनि राजीनामा दिन लागेको घोषणा गरे।

यसअघि ६४ वर्षीय नजिबले आफू र आफ्नी श्रीमती शनिवार बिदा मनाउन देशबाहिर जान लागेको बताएका थिए।

उनी इण्डोनेशियाको राजधानी जकार्ता जान खोजिरहेको ठानिएको थियो।

सम्बन्धित सामग्री