'मोदीले संविधान संशोधनको विषय नै उठाएनन्'

  • 12 मे 2018
नरेन्द्र मोदी तस्वीर कपीराइट NArendra Modi/Twitter

दुई दिने नेपाल यात्रा सकेर शनिवार स्वेदश फर्किएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो भ्रमणलाई ऐतिहासिक भनी टिप्पणी गरेका छन्।

स्वदेश फर्किनुअघि उनी मुक्तिनाथ र पशुपति दर्शनबाहेकको समयमा खासगरी विभिन्न दलका नेताहरूसँगको छुट्टाछुट्टै र सामुहिक भेटघाटमा व्यस्त रहे।

त्यही भेटका क्रममा उनले तराई केन्द्रित मुख्य दुई दलका नेताहरूलाई पनि भेटेका थिए।

तर ती भेटमा उनले विगतमा जस्तो संविधान संशोधन लगायत तराई केन्द्रित दलहरूको असन्तुष्टिबारे कुनै चर्चा नगरेको नेताहरूले बताएका छन्।

मुक्तिनाथमा 'प्रधान तीर्थयात्री' मोदी

आशा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर हुँदै नेपालको भ्रमण सुरु गर्नुअघि तराई केन्द्रित दलका नेताहरूले उनको भ्रमणले संविधान संशोधनको आफूहरुको माग अनुरुप वातावरण बन्ने आशा व्यक्त गरेका थिए।

तराई आन्दोलनको केन्द्रमध्येको एक जनकपुरबाट नेपालको भ्रमण सुरु गरेका मोदीले विगतमा उठाउने गरेको संविधान संशोधनबारे यसपटक के भन्लान् भन्ने चासो निकै देखिन्थ्यो।

तर शनिवार राजधानीस्थित एक होटलमा तराई केन्द्रित दल राष्ट्रिय जनता पार्टीका नेताहरूसँगको भेटमा भने मोदीले संविधान र संविधान संशोधनका विषयमा चासो नदेखाएको उक्त पार्टीको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताए।

उनले भने, "यसपटक त्यो विषयमा नै प्रवेश भएन। उहाँको हाउभाउ र शब्द पनि नयाँ चरणमा देश प्रवेश गरेको छ भन्ने खालको थियो र राजनीतिक स्थिरतामा बढी जोड दिनुभएको थियो।"

राजपाका नेतासँग मात्रै नभई संविधान संशोधनको माग गरिरहेको अर्को दल संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा पनि संविधान संशोधनको विषय नै नउप्काएको उनले बताएका छन्।

मोदी-ओलीको निचोड: आपसी सम्बन्धमा नयाँ ऊर्जा

धारणा

मोदीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापतिसहित शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटघाट गरेका थिए।

ती कुनै भेटमा उनले विगतमा जस्तै संविधानबारे कुरा नउठाएको सहभागी केही नेताहरूले बताएका छन्।

यसलाई कतिपयले भारतले संविधान संशोधनसम्बन्धी विगतको धारणा बदलेको रुपमा अर्थ्याएका छन्।

विश्लेषक सुरेन्द्र लाभले भने, "तराई केन्द्रित दलहरूलाई पनि एउटा सन्देश दिएको हुनुपर्छ अब तपाईँहरू पनि यो कुरा धेरै नउठाउनुस्। संघीयता आइहाल्यो, तीनतहको सरकार भइहाल्यो र केन्द्रसँग सम्बन्ध राम्रो रहोस् भन्ने चाहना उहाँको भएको हुनाले यी दलहरूलाई पनि त्यति खासै वास्ता वहाँले गर्नुभएन यो विषयमा।"

सम्बन्धित सामग्री